
काठमाडौं । भारतीय मूलकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहयोगी बुच विल्मोर अन्तरिक्षमा फसेको ६ महिना भइसकेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२५ मा उनीहरु पृथ्वीमा फर्कने जनाएको छ । तर, के उनीहरु सकुशल रुपमा फर्केलान् ? ८ दिनका लागि गएका उनीहरु किन तोकिएको समयमा फर्कन सकेनन् ?
विज्ञान क्षेत्रमा सन् २०२४ भर चर्चामा रह्यो इलोन मस्कको कम्पनी स्पेस एक्सको शक्तिशाली रकेट स्टारसिपको सफल परीक्षण उडान । स्पेस एक्सले स्टारसिपलाई गत अक्टोबरमा सफल परीक्षण उडान गर्यो । उक्त पाँचौं परीक्षणमा स्टारसिप रकेटको अति भारी फस्ट स्टेज बुस्टरलाई प्रक्षेपण केन्द्रको लन्च टावरमै फिर्ता समातेर स्पेस एक्सले विश्वको ध्यान आफूतर्फ आकर्षित गर्यो ।
बुस्टरलाई आकाशमै समात्न दुई ठूला रोबोटिक हातको प्रयोग गरिएको थियो । स्पेस एक्सको यो सफलताले फस्ट स्टेज बुस्टरलाई पुन प्रयोग गर्न सकिने र यसले अन्तरिक्ष अभियानमा हुने खर्चलाई निकै कम गर्न सकिने सम्भावनालाई पुष्टि गरेको छ ।
स्पेस एक्सले आफ्नो अन्तरिक्ष अभियान स्टारसिपलाई मानिसहरुलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्याउन प्रयोग गर्ने लक्ष्य राखेको छ । यसले भविष्यमा मंगल ग्रहमा मानवबस्ती बसाल्ने अति महत्वाकांक्षी परिकल्पनालाई बल पुग्ने देखिन्छ ।
यस्तै, सन् २०२४ को जुन ५ मा अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहयोगी बुच विल्मोरले अन्तरिक्षका लागि उडान भरेका थिए । बोइङको नयाँ स्टारलाइनरको क्रु क्याप्सुलले ६१ वर्षीय बुच र ५८ वर्षीया सुनितालाई अन्तर्राष्ट्रिय स्पेस स्टेसन अर्थात् आईएसएससम्म पुर्यायो । उनीहरु एक सातामै पृथ्वीमा फर्किने तालिका थियो । तर, बोइङको नयाँ स्टारलाइनरमा प्रविधिक गडबडी आएपछि उनीहरु ६ महिनादेखि आईएसएसमा फसेका छन् । अब उनीहरुको सुरक्षाका विषयमा चिन्ता थपिएको छ ।
अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा तीन सयदेखि चारसय दिनसम्म बाँच्न सक्ने व्यवस्था गरिएको हुन्छ । रुसी अन्तरिक्ष यात्री वालेरी पोल्योकोभले अन्तरिक्षमा करिब ४ सय ३७ दिन बिताएर इतिहास रचेका छन् । अब नासा सुनिता र विल्मोरलाई पृथ्वीमा फर्काउन लागिपरेको छ । उसले क्रु–९ मिसन अन्तर्गत स्पेस एक्सको स्पेस सिपमार्फत् सन् २०२५ को फेब्रुअरीमा ती यात्रुलाई पुथ्वीमा ल्याउने लक्ष्य राखेको छ ।
यो पनि हेर्नुहोस :
वर्ष २०२४ : निर्वाचनमय बनेको विश्व
सन् २०२४ : हवाई क्षेत्रका लागि दुखद् वर्ष
वर्ष २०२४ : टेनिसका लागि कस्तो रह्यो ?
सन् २०२४ मा विश्व फुटबलमा के के भयो ?
वर्ष २०२४ : विश्व क्रिकेटका लागि कस्तो रह्यो ?
वर्ष २०२४ : प्राकृतिक विपत्तिले कहाँ, कस्तो क्षति पुर्यायो ?