काठमाडौं । विश्व फुटबलमा सन् २०२४ निकै रोमाञ्चक रह्यो । युरो कप, कोपा अमेरिका मात्रै होइन अफ्रिका कप अफ नेशन्स पनि समर्थकको नजरमा उत्तिकै परे । अंग्रेजी नयाँ वर्ष सुरू हुन अब धेरै दिन बाँकी छैन । वर्ष सकिँदै गर्दा आज हामी २०२४ भरि भएका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय फुटबलबारे जानकारी लिएर आएका छौं ।
स्पेनका सब्स्टिच्युट खेलाडी माइकल ओयरजवालले ८६औं मिनेटमा गोल गरेपछि स्पेनले कीर्तिमानी चौथो पटक युरो कपको उपाधि जित्यो । उसले फाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराएर उपाधि कब्जामा पार्यो । यो नै सन् २०२४ को प्रमुख फुटबल प्रतियोगिता रह्यो । स्पेनका लागि निकै रोमाञ्चकारी रहेको यो वर्ष उसले सात खेलमा जित निकाल्यो । इंग्ल्यान्डको भने ५८ वर्षपछि मुख्य उपाधि जित्ने अवसर गुम्यो ।
यता दक्षिण अमेरिकाको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि भने अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक जित्यो । युरो कपको फाइनल भएकै दिन आयोजित कोपाको फाइनलमा कोलम्बियालाई १-० गोलले हराउँदै अर्जेन्टिनाले उपाधिको कीर्तिमान बनायो । अमेरिकाको हार्ड रक रंगशालामा सब्स्टिच्युट लाउतारो मार्टिनेजले अर्जेन्टिनाका लागि विजयी गोल गरेका थिए । सन् २०२१ को कोपा अमेरिका र २०२२ को फिफा विश्वकप जितेपछिको अर्जेन्टिना अहिलेको सबैभन्दा उत्कृष्ट देश सावित भएको छ । त्यसमाथि कप्तान लियोनल मेस्सीले आठौं पटक बालोन डी ओर अवार्ड जिते । उनले नेतृत्व गरिरहेको इन्टर मायामी क्लबले पनि इतिहासमा सबैभन्दा फराकिलो अन्तरले उपाधि जितेको थियो ।
अर्को महादेशीय फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेशन्सको उपाधि आइभरी कोस्टले जित्यो । आइभरी कोस्टको उपाधि यात्रा साँच्चै नाटकीय, रोमाञ्चकारी र थ्रिलले भरिएको छ । उसले समूह चरणमा इक्वेटेरियल गिनीसँग ४-० को फराकिलो र लज्जास्पद हार बेहोरेको थियो । हारपछि पनि प्रशिक्षक इमसे फेको आत्मविश्वास कमजोर भएन । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक यान लुइस बर्खास्त हुनुअघि इमसे साहायक प्रशिक्षक थिए । भत्किएको टिमलाई जोडेर उनैले टिमलाई उपाधिसम्म पुर्याए । फाइनलमा, सेबास्टियन हालरले नाइजेरिया विरुद्ध नौ मिनेटमा नै गोल गरे । जितको मुख्य कारक सोही गोल रह्यो । आइभरी कोस्टले जितेको यो तेस्रो ठूलो उपाधि हो । समूहको दुई हारका बाबजुद उपाधि जितेर आइभरी कोस्टले सबै समर्थकलाई आश्चर्यमा पारेको थियो ।
यता क्लब फुटबलमा रियल मड्रिड कीर्तिमानी १५औं पटक युरोपेली च्याम्पियन बन्यो । वेम्बलीमा भएको फाइनलमा उसले बोरुसिया डर्टमन्डलाई हरायो । खेलको लगभग अन्तिम समयमा ड्यानी कार्भाजल र भिनिसियस जुनियरले डेडलक तोडेका थिए । त्यही वर्षको अन्तिममा रियलले विना ट्रान्सफर फी केलियन एम्बाप्पेलाई अनुबन्ध गर्न सफल भयो ।
११७ वर्षको इतिहासमा इटालियन क्लब एटलान्टाले दोस्रो उपाधि जित्यो, त्यो थियो युरोपा लिग । एडेमोला लुकमनले ह्याट्रिक गरेपछि जर्मन क्लब बायर लिभरकुसनको ५१ खेलको अपराजित यात्रामा समेत ब्रेक लागेको थियो । यो वर्ष युरोपा कन्फरेस लिगको उपाधि भने ओलम्पियाकोसले जितेको थियो । यो ग्रीक क्लबले जितेको अहिलेसम्मकै सबैभन्दा ठूलो ट्रफी समेत हो ।
दक्षिण अमेरिकाको क्लब फुटबलमा भने यो वर्ष बोटाफोका समर्थकलाई खुसियालीको अवसर भयो । किनभने १० खेलाडीमा समेटिए पनि बोटाफोले पहिलो पटक कोपाल लिबार्तादोरेसको उपाधि जित्यो ।
विश्व फुटबलमा अन्य दुई महत्त्वपूर्ण कुरा यही वर्ष भएका छन् । च्याम्पियन्स लिग नयाँ शैलीमा भइरहेको छ । समूह चरणमा हुने जस्तो प्रतियोगिता यो वर्ष छैन । सँगसँगै नयाँ शैलीमा हुने फिफा विश्वकपका लागि ड्र समेत सार्वजनिक भएको छ । अर्को वर्ष अमेरिकामा पहिलो पटक ३२ टिम सहभागी हुने क्लब विश्वकप आयोजना हुँदै छ । सो विश्वकपका लागि समूह विभाजन पनि यसै वर्ष भएको छ ।
यसै वर्ष विश्वकपको एसिया छनोटको तेस्रो चरण सम्पन्न भयो । एसियाका ६ देश विश्वकपमा छनोट भएका छन् । यस बाहेक एसियाली च्याम्पियन्स लिगमा अल ऐन च्याम्पियन बनेको छ ।