काठमाडौं । प्यालेस्टिनी समूह हमासले आफ्नो नियन्त्रणमा रहेका २० बन्धक रिहा गरेको छ ।
हमासले पहिलो चरणमा ७ र दोस्रो चरणमा १३ गरी २० बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रससमक्ष हस्तान्तरण गरेको इजरायली अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । हमासले ७ बन्धकलाई उत्तरी गाजा र १३ जनालाई दक्षिणी गाजाबाट रिहा गरेका हुन् ।
यससँगै बन्धकको रिहाइका लागि तेल अभिभको होस्टेज स्क्वायरमा पर्खिरहेका हजारौं नागरिक तथा बन्धक परिवारले खुसीयाली मनाइरहेका छन् । यसैगरी मृतक २८ बन्धकको शव पनि हस्तान्तरण गरिएको हमासले जनाएको छ । उता इजरायलले रिहा गर्ने प्यालेस्टिनी बन्दीको रिहाइ हुँदैछ ।
इजरायल अधिनस्थ वेस्ट ब्यांकको रमल्लाहमा बन्दीका परिवार तथा आफन्तहरू पर्खाइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसबीच, अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प इजरायल पुग्नुभएको छ । उहाँले बन्धकका परिवारसँग भेट गर्ने, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग छलफल गर्ने र त्यसपछि गाजा संकटका विषयमा इजिप्टमा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ।