सन् २०२४ मा ककसले जिते नोबेल पुरस्कार ?

पुस १७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
सन् २०२४ मा ककसले जिते नोबेल पुरस्कार ?

काठमाडौं । वैज्ञानिक अल्फ्रेड नोबेलको इच्छामा स्थापना भएको नोबेल पुरस्कार प्रत्येक वर्ष विज्ञान, साहित्य, चिकित्सा, अर्थशास्त्र र शान्तिका उपलब्धिहरूका लागि प्रदान गरिन्छ । एक विधामा अधिकतम तीन जनासम्मलाई नोबेल पुरस्कार दिने गरिन्छ । पहिलो पटक सन् १९०१ मा चिकित्साशास्त्रको नोबेल पुरस्कार दिइएको थियो । नोबेल पुरस्कारको राशि एक करोड १० लाख स्विडिश क्रोनर अर्थात् १० लाख अमेरिकी डलर रहेको छ । सन् २०२४ मा भने कसले पाए त नोबेल पुरस्कार ?

सन् २०२४ को नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिदान्क्योलाई प्रदान गरिएको थियो । विश्वमा आणविक निषेध कार्यक्रममा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भन्दै निहोन हिदान्क्योलाई नोबेल शान्ति पुरस्कार दिइएको हो । यो संस्था हिरोसिमा र नागासाकीमा सन् १९४५ मा भएको आणविक विस्फोटमा बाँचेकाहरूले सञ्चालन गरेको हो । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकद्वय जोन जे. हपफिल्ड र जेफ्री इ. हिन्टनलाई प्रदान गरिएको छ । कृत्रिम स्नायु सञ्जालसँग यान्त्रिक सिकाइ सक्षम हुने खालको मौलिक खोजी र आविष्कारका लागि उक्त पुरस्कार वैज्ञानिकद्वयलाई दिइएको हो ।

यस्तै चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार भने अमेरिकाका भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनले प्राप्त गरे । माइक्रो आरएनए आविष्कार गरे बापत उनीहरूलाई पुरस्कार प्रदान गरिएको हो । यस्तै रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन रसायनशास्त्रीहरू डेभिड बेकर, डेमिस हसाबिस र जोन एम जम्परलाई संयुक्त रूपमा दिने घोषणा गरियो । शरीरको प्रत्येक कोषमा पाइने र जीवनको रचक खण्ड ‘बिल्डिङ ब्लक’ मानिने प्रोटिनका सम्बन्धमा गरेको महत्त्वपूर्ण खोजका लागि उनीहरूलाई यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको आधा रकम कम्युटेशनल प्रोटिन डिजाइनका लागि वैज्ञानिक डेभिड बेकरलाई र आधा रकम संयुक्तरूपमा वैज्ञानिकद्वय हसाबिस र जम्परलाई, कृत्रिम बौद्धिकताको प्रयोग मार्फत् प्रोटिन संरचनाको भविष्यवाणीका लागि दिइएको हो ।

यस्तै साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी ५३ वर्षीया लेखक हान काङलाई प्रदान गरियो । मानव जीवनका विपत्ति, उतारचढाव र नाजुकतालाई आफ्नो लेखन मार्फत् उजागर गरेकोमा लेखिका काङलाई पुरस्कार दिइएको हो । उहाँको अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको पहिलो उपन्यास ‘शाकाहारी’ अर्थात् ‘दि भेजिटेरियन’ नेपालीमा समेत अनुवादित छ । उक्त उपन्यासले सन् २०१६ मा बुकर पुरस्कार समेत पाएको थियो ।

यस्तै अर्थशास्त्रतर्फ सामाजिक संस्थाहरू कसरी निर्माण हुन्छन् र तिनले समृद्धिलाई कसरी प्रभाव पार्दछन् भन्ने विषयमा गरेको अध्ययनका लागि अर्थशास्त्रीहरू डेरोन एसोमोग्लु, सिमोन जोन्सन र जेम्स रोबिन्सलाई नोबेल पुरस्कार दिइएको थियो ।

यो पनि हेर्नुहोस :

वर्ष २०२४ लाई फर्केर हेर्दा : अन्तरीक्ष अभियानमा के-के भयो ?

वर्ष २०२४ : निर्वाचनमय बनेको विश्व

सन् २०२४ : हवाई क्षेत्रका लागि दुखद् वर्ष

वर्ष २०२४ : टेनिसका लागि कस्तो रह्यो ?

सन् २०२४ मा विश्व फुटबलमा के के भयो ?

वर्ष २०२४ : विश्व क्रिकेटका लागि कस्तो रह्यो ?

वर्ष २०२४ : प्राकृतिक विपत्तिले कहाँ, कस्तो क्षति पुर्‍यायो ?