विपिन जोशीको मृत्यु भइसकेको हमासद्वारा पुष्टि

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपिन जोशीको मृत्यु भइसकेको हमासद्वारा पुष्टि

काठमाडौं । प्यालेस्टिनी समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ । बन्धक बनाइएको ७ सय ३८ दिनपछि विपिनको मृत्यु भएको पुष्टि हमासले गरेको हो । 

हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले सोमबार एक विज्ञप्ति जारी गर्दै विपिनसहित चार बन्धकको मृत्यु भएको पुष्टि गरेको हो । हमासद्वारा जारी गरिएको विज्ञप्तिमा उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरिएको छ । 

फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरु गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् । हमासले अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा सोमबार नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गरिने जनाएको छ।

इजरायली सुरक्षा अधिकारीहरूले पनि रेडक्रसमार्फत शवहरू प्राप्त गर्ने तयारी भइरहेको पुष्टि गरेका छन्। यसअघि आज मात्रै हमासले आफ्नो नियन्त्रणमा रहेका २० बन्धक रिहा गरेको थियो ।

हमासले पहिलो चरणमा ७ र दोस्रो चरणमा १३ गरी २० बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रससमक्ष हस्तान्तरण गरेको इजरायली अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । हमासले ७ बन्धकलाई उत्तरी गाजा र १३ जनालाई दक्षिणी गाजाबाट रिहा गरेका हुन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.