चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्दाे

आश्विन २७, २०८२ |नारायण किलम्बू
चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्दाे

काठमाडौं । चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढेको छ । 

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस, बीडीएस, नर्सिङलगायतमा नयाँ भर्नाका लागि खोलेको आवेदनमा झन्डै ५९ हजारले फाराम भरेका छन् । तीमध्ये १४ सयभन्दा बढी त विदेशी विद्यार्थी छन् । प्रवेश परीक्षामा सहभागी हुन चाहनेको संख्या अघिल्लो वर्षको भन्दा ६ हजार बढी छ । 

सबैभन्दा बढी एमबीबीएसमा १८ हजारभन्दा बढीले आवेदन दिएका छन् । जबकी विभिन्न विषयमा गरी ९ हजार २ सय ७३ जनाले मात्र भर्ना पाउने छन् । चिकित्सा शिक्षा स्नातक तहको शैक्षिक कार्यक्रममा भर्नाका लागि ५८ हजार ९ सय ७५ जनाले प्रवेश परीक्षा दिन फाराम भरेका छन् । 

चिकित्सा शिक्षा आयोगले सरकारी तथा निजी शिक्षण संस्थामा एमबीबीएस, बीडिएस, नर्सिङसहित १३ वटा शैक्षिक कार्यक्रमका लागि प्रवेश परीक्षा दिन आवेदन माग गरेको थियो । आवेदन दिनेमध्ये सबैभन्दा बढी एमबीबीएसमा २६ सय ३५ सिटका लागि १८ हजार १ सय ८१ जना छन् । गतवर्ष एमबीबीएस पढ्न १७ हजार ८ सयले आवेदन दिएका थिए ।

बीडीएसमा ६ सय २५ सिटका लागि ९ हजार ३ सय २० र बीएसी नर्सिङमा २४ सय ३० सिटका लागि १५ हजार ६ सय ५६ जनाले आवेदन दिएका छन् । फार्मेसी, बिपिटी, बिएन नर्सिङ, बि अप्टोमेट्री, बी टेक्नोलोजीलगायतका विषयमा समेत विद्यार्थीको आकर्षण बढेको छ । मेरिटमा अगाडि नाम निकाल्न सके नि:शुल्क पढ्न पाउने भएकाले विद्यार्थीहरु अहिले प्रवेश परीक्षा दिन कठोर मेहनत गरिरहेका छन् ।

नेपालमा एमबीबीएस अध्ययन गर्न भारत, क्यानडा, अस्ट्रेलिया, श्रीलंका, अमेरिकालगायतका देशका १४ सय २३ जनाले आवेदन दिएका छन् । जसले नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न विदेशीको पनि रुची बढेको देखिएको छ । आयोगले विदेशी विद्यार्थीलाई सरकारी शिक्षण संस्थानमा १० र निजीमा ३३ प्रतिशत कोटा निर्धारण गरेको छ ।

चिकित्सा शिक्षा ऐनअनुसार सरकारी शिक्षण संस्थामा कुल सिट संख्याको ७५ प्रतिशत विद्यार्थीले नि:शुल्क पढ्न पाउँछन् । कात्तिक १५ देखि १९ गतेसम्म काठमाडौं उपत्यकाका २ सय ४ वटा परीक्षा केन्द्रमा प्रवेश परीक्षा हुनेछ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।