काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनपछि २०७९ पुस १० गते बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार बहिर्गमन हुने निश्चित भएको छ । प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकालको १८ महिना संसद्का दुई ठूला दल कांग्रेस र एमालेलाई पालैपालो हातमा लिएर सत्ता चलाउनुभएको थियो ।
माओवादी केन्द्र तेस्रो दल भए पनि उहाँ कहिले कांग्रेस त कहिले एमालेलाई धोका दिँदै राजनीतिक समीकरण मिलाएर सत्तामा टिकिरहनुभएको थियो । तर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भनेजस्तै दुवै धोका पाउनेहरु एकै ठाउँमा आउँदा अहिले उहाँले धोखा खानुभएको छ । आफ्नो दलसँग रहेको ३२ सिट जादुमयी रहेको र यसको बलमा कहिले कसलाई कहिले कसलाई लात्ताले हान्दै उथलपुथल गरेर पाँच वर्षसम्मै सरकार चलाउन सक्ने उद्घोष गर्दै हिँड्नु भएका प्रधानमन्त्रीको जादुले एक साता पनि काम गरेन ।
२०७९ को निर्वाचनमा एक्लै निर्वाचन लडेको भए नेकपा माओवादी केन्द्र अहिले कुन हैसियतमा हुन्थ्यो यसै भन्न सकिँदैन । तर नेपाली कांग्रेससँग सहकार्य गरेर निर्वाचन लड्दा उसले संसद्मा ३२ सिट प्राप्त गर्दै तेस्रो शक्तिका रुपमा स्थापित भयो । जनमतअनुसार पहिलो शक्तिले सत्ता चलाउनुपर्नेमा गठबन्धन सरकार बनाउनुपर्ने बाध्यताका बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ताको नेतृत्व गर्ने मौका पाउनुभयो ।
निर्वाचनमा कांग्रेससँग सहकार्य गर्नुभएका उहाँ २०७९ पुस १० गते नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभयो । तर एमालेसँगको सहकार्य लामो समय टिकाउन सक्नुभएन । प्रधानमन्त्री भएको ६२ दिन नबित्दै दाहालले एमालेसँगको सहकार्य टुटाएर फेरि कांग्रेससँगै हात मिलाउनुभयो । २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएपछि कांग्रेसलाई सरकारमा सहभागी गराएर उहाँले संसद्मा बहुमत कायमै गर्नुभयो । तर यो समीकरण पनि एक वर्षभन्दा बढी टिक्न सकेन ।
उहाँले २०८० फागुन २१ गते फेरि कांग्रेसलाई धोका दिएर एमालेसँगै सहकार्यको हात बढाउनुभयो । यही चरणबाट दाहालको ओरालो यात्रा सुरु भएको हो । पटकपटक सहकर्मी दल फेर्ने र धोका दिएर जसरी सत्तामा टिक्ने उहाँको नीति पालैपालो साथ दिए पनि कांग्रेस एमाले दुवैलाई ठीक भने लागेको थिएन । यही कारण दुवै दल मौकाको पर्खाइमा थिए ।
संसद्मा कमजोर अंकगणित भएका प्रधानमन्त्री दाहाललाई पहिला एमालेले त्यसपछि कांग्रेसले धोकेबाजको संज्ञा दिइसकेका थिए । अघिल्लो गठबन्धन भत्काएर एमालेले धोखाको बद्ला लिइसकेको थियो भने अहिले कांग्रेस कुनै पनि हालतमा आफूलाई दिएको धोखाको बदला लिने रणनीतिमा थियो ।
पटक-पटकको धोकाबाट आजित भएका दुवै दललाई एकठाउँमा ल्याउने कडी भने पछिल्लो समयको प्रधानमन्त्रीको अभिव्यक्ति नै बन्यो । उहाँले आफूसँग ‘जादुयी नम्बर’ रहेको भन्दै कसैले चलाउन नसक्ने अभिव्यक्ति दिनु । सत्ता साझेदार दलभन्दा बाहिर गएर पुन: सत्ता समीकरणको कुरा गर्न थाल्नु । बजेट निर्माणका क्रममा सत्ता साझेदार दलभन्दा बाहिर छलफलमा जानु तथा सत्तामा रहेका दललाई चिढ्याउने बजेट ल्याउनुलगायत कारणले एमालेलाई पनि सशंकित बनाउन थाल्यो ।
यसले दाहालले फेरि धोका दिने र प्रधानमन्त्री बन्ने आफ्नो पालो नआउने बुझेपछि एमाले अध्यक्ष ओली असन्तुष्ट बन्नुभएको थियो । प्रधानमन्त्री दाहालसँग एमाले असन्तुष्ट भएको छनक पाएको मौकामा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग सहमतिको हात अघि बढाउनुभयो । देउवाले ल्याएको सहकार्यको प्रस्तावमाथि छलफल गर्दा र दुवै दलका संविधान संशोधनलगायत विषयमा सहमति बन्ने वातावरण बनेपछि कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने वातावरण बनेको हो ।
सत्तामा धोका पाएपछि प्रधानमन्त्री दाहालले संविधान संशोधनका नाममा प्रतिगमन र आफूले चालेका भ्रष्टाचारविरोधी कदमबट तर्सिएर कांग्रेस-एमाले एक ठाउँमा पुगेको तर्क गर्नुभएको छ । तर उहाँले के बुझ्नुपर्छ भने आफ्नो पार्टीको संसदीय अंकगणितको हैसियत बिर्सिएर समीकरणका नाममा दिँदै आएको पालैपालो धोकाको यो परिणाम हो र यसले धोकाको एउटा शृंखलाको पटाक्षेप गरेको छ ।
यो पनि...
कांग्रेस-एमाले सहमति भत्काउन दाहाल-नेपालको दौडधुप
रवि लामिछानेको दाबी- भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन्
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहाल बीचको भेटवार्ता सकियो
कांग्रेस-एमालेबीच सत्ता समीकरणको कसरत, माओवादी सशंकित
नयाँ समीकरणमा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
घटनाक्रम अझै हेर्नु छ : अग्नि सापकोटा
सत्ता गठबन्धन गर्ने कांग्रेस-एमालेबीच सहमति
नयाँ सत्ता समीकरण : प्रमुख दलहरू आन्तरिक छलफलमा
देउवालाई दाहालको फोन : रास्वपासहितको गठबन्धन बनाऊँ, देउवाको जवाफ- त्यो च्याप्टर क्लोज भइसक्यो
दाहालले प्रधानमन्त्री पदबाट राजीनामा नदिने
के कांग्रेस र एमाले मिल्दैमा संविधान संशोधन सम्भव छ ?
एमालेसँगको समझदारीअनुसार अघि बढ्ने कांग्रेसको निर्णय