मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारले सक्रियता र सक्षमताका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । कोशी प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेशको हिमाल, ऐतिहासिकता, तीर्थस्थलका विषय चर्चा गर्दै प्रधानमन्त्री ओलीले कोशी प्रदेशले धेरै गर्न सक्ने बताउनुभयो ।
व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै प्रधानमन्त्री ओलीले विगतका केही वर्षमा असाधारण काम भएको दाबी गर्नुभयो । विकास निर्माणमा दूरगामी दृष्टिकोणका साथ काम भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
राम्रो कामको नेतृत्व गरौं, देशको मुहार फेरौं भन्ने उद्देश्यले यो उमेर र अवस्थामा आफू लागेको भन्दै प्रधानमन्त्री ओलीले कसैको पनि आलोचना नगर्ने बताउनुभयो । सबैसँग छलफल र सहकार्य गर्न चाहेको भन्दै प्रधानमन्त्री ओलीले राम्रा कुरा सबैको ग्रहण गर्ने बताउनुभयो ।
शान्ति र राष्ट्रिय एकता चाहिएको भन्दै प्रधानमन्त्री ओलीले विविधतामा एकता खोज्ने बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्न र हुन पनि नदिने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार भएको पाइए कारबाही गर्ने बताउनुभयो । भौतिक विकास र सामाजिक विकासमा धेरै काम भएको भन्दै प्रधानमन्त्री ओलीले अझै सुदृढ गर्दै जाने धारणा राख्नुभयो ।
यसअघिका आफ्ना भाषणहरूमा विपक्षी दलहरूको आलोचना गर्दै आउनुभएका प्रधानमन्त्री ओलीले प्रदेश सभालाई सम्बोधन गर्दा भने कसैको आलोचना गर्नुभएन । विपक्षी दलहरूले आफूहरूको आलोचना गरे नियमापत्ति र बहिष्कार गर्ने चेतावनी दिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलका नेताहरूसँग वार्ता गरी विपक्षी दलहरूको आलोचना नहुने आश्वासन दिनुभएको थियो । सोही सहमति पालना गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरूको आलोचना गर्नुभएन ।