काठमाडौं । खाद्य अनुमतिपत्र नलिई उत्पादन र बिक्री वितरण गरेको पाइएपछि संयुक्त अनुगमन टोलीले २५ सय १६ बोरा चामल र एक हजार ४३ बोरा चिउरा सिलबन्दी गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय निकायका प्रतिनिधि सहितको उपस्थितिमा गरेको संयुक्त अनुमगनमा टोलीले काडमाडौंको तारेकेश्वर नगरपालिका–९ मा टाइचिन चामल र विभिन्न फर्म वा कम्पनीको ब्रान्ड र नाममा प्याकेजिङ गरेका २५ सय १६ बोरा चामल र एक हजार ४३ बोरा चिउरा सिल गरेको हो ।
त्यस्तै हलेसी फूड्स खाद्य उद्योग प्रालि नागार्जुन–७ समेत खाद्य अनुमतिपत्र नलिई विभिन्न ब्रान्डका चामल खरिद गरी रि–लेबलिङ र रि ब्रान्डिङ गर्ने गरेको पाइएपछि १६ सय ४६ बोरा चामल सिलबन्दी गरेको छ ।
त्यस्तै नागार्जुन–४ मा रहेको गढीमाई प्याकेजिङ उद्योगले अनुमपतिपत्र नलिई चामलको रि–ब्रान्डिङ गरेको भन्दै ७७ हजार ८५० किलो चामल सिलबन्दी गरेको छ ।
विना अनुमपतिपत्र वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्ने उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कारबाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।