काठमाडौं । विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भएर नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ ।
भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियमा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई रजत दिलाएकी थिइन् ।
प्रभाले टी-४७ क्याटगोरीको महिला लङजम्पमा ३.९६ मिटर जम्प गर्दै रजत जितेकी हुन् । प्रभाले लङजम्पसहित २ सय र ४ सय मिटर दौडमा पनि सहभागिता जनाएकी थिइन् ।
प्रभासहित नेपालबाट ६ खेलाडी सहभागी थिए । पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि खेलेका थिए ।
अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर भारत गएका थिए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका सदस्य रामचन्द्र श्रेष्ठलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।