काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सम्बन्धित निकाय, राजनीतिक दललगायत सबैले एकापसमा उचित समन्वय आवश्यक रहेको बताउनुभएकाे छ ।
राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २४ औँ वार्षिकोत्सवका अवसरमा सिंहदबारमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका नयाँ-नयाँ आयामहरुलाई मनन् गर्दै देखा पर्न सक्ने चुनौतीको सामना गर्नुपर्नेमा जोड समेत दिनुभएको छ । उहाँले नेपाली सेनाबारे अफवाह फैलाउने कुचेष्टा भइरहेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले उहाँले नेपाली सेना संविधान अनुरुप नै रहेको पनि प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाको सन्दर्भमा ‘होल अफ द नेशन’ को अवधारणा अनुसार काम गर्न आवश्यक रहेको बताउनुभएकाे छ ।
कार्यक्रममा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले परम्परागत सुरक्षा चुनौतीका अतिरिक्त सूचना र प्रविधिको द्रुत विकाससँगै यसको दुरुपयोगका कारण उत्पन्न साइबर अपराधले राष्ट्रिय सुरक्षालाई संवेदनशील बनाउने उल्लेख गर्नुभयो ।
विसं २०५८ साल फागुन २७ गतेबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको स्थापना भएको थियो । सचिवालयले राष्ट्रिय सुरक्षा परिषद्को कार्यलाई सहजीकरण गर्ने, आवश्यक राय सुझाव दिने तथा सुरक्षा विश्लेषण प्रतिवेदन तयार गर्ने कार्यहरु गर्दै आइरहेको छ ।