कांग्रेस-एमाले सहमति भत्काउन दाहाल-नेपालको दौडधुप

दलहरुका आ-आफ्नै निर्णय : कांग्रेसले एमालेलाई सघाउने, रास्वपा सरकारमा सहभागी नहुने
कांग्रेस पदाधिकारी बैठककै बीच देउवालाई दाहालको फोन, देउवाको जवाफ- च्याप्टर क्लोज
दाहाललाई राजीनामा दिन ओलीको आग्रह, प्रधानमन्त्रीको पदबाट राजीनामा नदिने बरु संसद्‌मा विश्वासको मत लिने माओवादीको निर्णय
असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस-एमाले सहमति भत्काउन दाहाल-नेपालको दौडधुप

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमले प्रधानमन्त्री पुष्पकमल दाहालको दौडधुप बढेको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता समीकरणका लागि सहमति जुटेसँगै प्रधानमन्त्री दाहालको दौडधुप बढेको हो । दौडधुप त दाहालको मात्र होइन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पनि बढेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच सोमबार साँझ सत्ता गठबन्धनका लागि नयाँ समीकरण बनाउने सहमति भएको छ । देउवा-ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा पनि सहमति भएको छ । सुरुको डेढ वर्ष ओली र त्यसपछिको डेढ वर्ष देउवाले सरकारको नेतृत्व गर्ने भनेपछि दाहाल र नेपाल जसरी भए पनि कांग्रेस-एमालेको समीकरण भत्काउन दौडधुप थाल्नुभएको हो ।

यसैक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

संसद्‌का दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएपछि सरकार परिवर्तन हुने भएको छ । प्रधानमन्त्री दाहालले मंगलबार बिहान मात्रै एमाले अध्यक्ष केपी ओली र सत्ता घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गर्नुभएको थियो ।

ओली र नेपालसँगको छलफललगत्तै दाहालले पार्टी पदाधिकारी बैठक बोलाउनुभएको थियो । पदाधिकारी बैठक सकेर दाहाल शीतलनिवास पुग्नु भएको हो । राष्ट्रपतिसँगको भेटमा दाहालले राजीनामा नदिने बरु सदनमा विश्वासको मतको सामना गर्ने बताउनुभएको बुझिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री दाहालले राजीनामा नदिने निर्णय गरेको छ । बैठकले नयाँ सत्ता समीकरणका लागि पहल गर्ने र संसद्‍मा विश्वासको मत लिने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

माओवादीले नयाँ समीकरणका लागि नेपाली कांग्रेस, रास्वपालगायत दलसँग पुन: पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

दाहाललाई राजीनामा दिन ओलीको आग्रह

यस्तै कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी बनाएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई मंगलबार भएको भेटमा राजीनामा दिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न बिहानै बालुवाटार पुग्नुभएका ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी कांग्रेससँग भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाउनुभएको हो । ओलीले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन माओवादी केन्द्रलाई आग्रहसमेत गर्नुभएको जनाइएको छ ।

एमालेसँगको समझदारीअनुसारै अघि बढ्ने कांग्रेसको निर्णय

यसैबीच कांग्रेसले सत्ता समीकरणका विषयमा एमालेसँग भएको समझदारीअनुसारै अघि बढ्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले एमालेसँग भएको समझदारीअनुसार अघि बढ्ने निर्णय गरेको हो । बैठकमा सभापति देउवाले एमाले अध्यक्ष ओलीसँग गएराति भएको समझदारीबारे जानकारी दिनुभएको थियो ।

नेताहरुका अनुसार देउवाले एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने जानकारी गराउनुभएको थियो । बैठकमा संविधान संशोधनलगायत विषयमा पनि सहमति कायम गरेर अघि बढ्ने र त्यसका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय कांग्रेसले गरेको छ ।

बैठकमै देउवालाई दाहालको फोन

कांग्रेस पदाधिकारीको बैठक चलिरहेकै बेला प्रधानमन्त्री दाहालले सभापति देउवालाई टेलिफोन गर्नुभएको थियो । त्यस क्रममा दाहालले कांग्रेस, माओवादी केन्द्र, रास्वपालगायत दल मिलेर सरकार गठन गर्न प्रस्ताव गर्नुभएको थियो । तर दाहालको प्रस्तावलाई देउवाले अस्वीकार गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले रास्वपासहितको गठबन्धन बनाउन देउवालाई फोनबाट आग्रह गरे पनि देउवाले इन्कार गर्नुभएको छ । ‘रास्वपासहितको गठबन्धन बनाऊँ’ भन्दै कांग्रेस सभापति देउवालाई दाहालले गरेको फोनमा देउवाले अब ‘त्यो च्याप्टर क्लोज भइसक्यो’ भन्दै जवाफ दिनुभएको एकजना कांग्रेस पदाधिकारीले बताउनुभयो ।

एमालेसँग भएको समझदारी अनुमोदन गर्न कांग्रेसले भोलि (बुधबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेस-एमाले गठबन्धनको सरकारमा रास्वपा सहभागी नहुने

सत्ता गठबन्धन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन प्रक्रिया सुरु भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको छ । रास्वपा सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खोल्न लाग्दा डराएर भ्रष्टाचारीलाई जोगाउन समीकरण फेरेको आरोप लगाउनुभएको छ ।

सत्ता सहकार्य गर्ने कांग्रेस र एमालेको सहमतिपछि आज बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको हो । बैठकले कांग्रेस-एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक एवं सांसद सन्तोष परियारले जनाउनुभयो ।

रास्वपाले अहिलेको राजनीतिक घटनाक्रमलाई अस्वभाविक भनेको छ ।

यो पनि...

रवि लामिछानेको दाबी- भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन्

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहाल बीचको भेटवार्ता सकियो

कांग्रेस-एमालेबीच सत्ता समीकरणको कसरत, माओवादी सशंकित

मध्यरातमा सत्ता फेर्ने सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई

नयाँ समीकरणमा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

घटनाक्रम अझै हेर्नु छ : अग्नि सापकोटा

सत्ता गठबन्धन गर्ने कांग्रेस-एमालेबीच सहमति

नयाँ सत्ता समीकरण : प्रमुख दलहरू आन्तरिक छलफलमा

देउवालाई दाहालको फोन : रास्वपासहितको गठबन्धन बनाऊँ, देउवाको जवाफ- त्यो च्याप्टर क्लोज भइसक्यो

दाहालले प्रधानमन्त्री पदबाट राजीनामा नदिने

संविधान संशोधनको विषय आशंकाको घेरामा छ : अग्नि सापकोटा

के कांग्रेस र एमाले मिल्दैमा संविधान संशोधन सम्भव छ ?

नयाँ गठबन्धनमा रास्वपा जाँदैन : सन्तोष परियार

नयाँ समीकरणबारे रवि लामिछानेको टिप्पणी-कसलाई जोगाउनका लागि हो ?

एमालेसँगको समझदारीअनुसार अघि बढ्ने कांग्रेसको निर्णय

केही संवैधानिक विषयहरू संशोधन गर्नु आवश्यक छ : ठाकुर गैरे

गिरीबन्धु प्रकरण र बेचन झा पक्राउपछि दुई शक्तिले हतारहतार सत्ता समीकरणको समझदारी गरे : माधव सापकोटा

बेचन झा पक्राउ परेपछि नयाँ सरकार फेरिने कसरत भएको हो : लेखनाथ दाहाल

मध्यरात फेरिएको सत्ता समीकरणबारे यस्तो भन्नुहुन्छ वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई

स्पष्ट धारणा छैन भने सरकारको बरालिने काम मात्रै हुन्छ : संविधानविद् विपिन अधिकारी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.