काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विपरीतका गतिविधिप्रति संसद्ले गम्भीर चासो देखाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख दलका नेताहरूले एकै स्वरमा लोकतन्त्र विरोधी कदमलाई स्वीकार गर्न नसकिने बताएका हुन् । गणतान्त्रिक व्यवस्था विरुद्धका कुनै पनि गतिविधि सह्य नहुने नेताहरूको चेतावनी छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सत्तारुढ तथा प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसदहरूले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धका गतिविधि रोक्न एकजुट हुनुपर्ने धारणा राखेका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता पुष्पकमल दाहालले संविधान र लोकतन्त्र बाहिर गएर कसैले गतिविधि गर्न खोजे त्यसको सामूहिक प्रतिरोध हुने बताउनुभयो । लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजतन्त्र पक्षधरलाई सुझाव दिँदै पूर्वप्रधानमन्त्री दाहालले लोकतन्त्र र राजतन्त्रको तुलना हुनै नसक्ने बताउनुभयो ।
अहिलेको परिस्थिति भने सरकारकै कारण आएको आरोप दाहालको छ । उहाँले सरकारको ड्राइभिङ सिटमै बिचौलिया रहेको टिप्पणी समेत गर्नुभयो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले असन्तुष्टि भए पनि पछाडि फर्किने ठाउँ नभएको बताउनुभयो । उहाँले नागरिकमा असन्तुष्टि रहेको उल्लेख गर्दै सरकारले आफ्ना काममा विश्वसनीयता कायम गर्नुपर्ने सुझाव दिनुभएको छ ।
नेकपा एमालेका सचिव गोकर्ण विष्टले गणतन्त्रले सबै नागरिकलाई अधिकार सम्पन्न गराएको भन्दै संविधान विरुद्धका गतिविधि सह्य नहुने उल्लेख गर्नुभयो । प्रमुख प्रतिपक्षी दलका नेताले लगाएको आरोपको खण्डन गर्दै विष्टले 'कतै बिचौलियासँग आफ्नो संगतको विषय यता फर्काउनुभएको त होइन' भन्ने प्रश्न समेत गर्नुभयो ।
विशेष समय लिएर बोलेका अन्य दलका सांसदहरूले पनि सरकारले कामकारबाहीको तरिकालाई परिवर्तन गर्नुपर्ने सुझाव दिँदै पछाडि फर्किने अवस्था भने नरहने बताएका छन् । उता राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने जनताले चाहेमा व्यवस्था परिवर्तन गर्न सक्ने धारण राखेका थिए ।
सांसदहरूले संविधान र संसदीय नियमावली विपरीतका अभिव्यक्तिले सदनमा पनि ठाउँ पाउन नहुने बताए । उनीहरूले शिक्षकहरूसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न र रूस लगायतका युद्धग्रस्त देशमा नेपाली पठाउने गिरोहलाई कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।