एमालेसँगको समझदारीअनुसार अघि बढ्ने कांग्रेसको निर्णय

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेसँगको समझदारीअनुसार अघि बढ्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सत्ता समीकरणका विषयमा नेकपा एमालेसँग भएको समझदारीअनुसार नै अघि बढ्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले एमालेसँग भएको समझदारीअनुसार अघि बढ्ने निर्णय गरेको हो ।

बैठकमा सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गएराति भएको समझदारीबारे जानकारी दिनुभएको थियो । नेताहरुका अनुसार देउवाले एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने जानकारी गराउनुभएको थियो । बैठकमा संविधान संशोधनलगायतका विषयमा पनि सहमति कायम गरेर अघि बढ्ने र त्यसका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय कांग्रेसले गरेको छ ।

कांग्रेस पदाधिकारीको बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले सभापति देउवालाई टेलिफोन गर्नुभएको थियो । त्यस क्रममा दाहालले कांग्रेस, माओवादी केन्द्र, रास्वपालगायतका दल मिलेर सरकार गठन गर्न प्रस्ताव गर्नुभएको थियो । तर दाहालको प्रस्तावलाई देउवाले अस्वीकार गर्नुभएको कांग्रेसका एक नेताले जानकारी दिनुभयो । एमालेसँग भएको समझदारी अनुमोदन गर्न कांग्रेसले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.