समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन अन्तरक्रिया गर्ने

चैत्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन अन्तरक्रिया गर्ने

काठमाडौै । समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ ।

आज नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको निस्कर्ष निकालिएको बताउनु भयो ।

उहाँले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौंमा वृहत बिरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने निर्णय भएको बताउनु भयो ।

प्रतिगामी कदम र हर्कतलाई असफल गर्नेगरी १५ गतेको बिरोध कार्यक्रम गर्ने निस्कर्ष निकालिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरु भइरहेका छन् । कार्यक्रमको बारेमा केही सोचेका छौँ, केही भनेका पनि छौँ । कार्यक्रमलाई भोलि अघि बढाउने र भोलि बिहान ११ बजेबाट बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने । दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने र त्यसको व्यवस्थापकीय पक्षका बारेमा निर्णय लिइएको छ । १५ गतेको वृहत बिरोध प्रदर्शनलाई भव्य बनाउने । प्रतिगामी कदम र हर्कतलाई असफल गर्नेगरी कार्यक्रम गर्ने ।’

उहाँले संसदवादी दलहरु र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरुसँग पनि नयाँ ढंगले छलफल गर्ने निर्णय भएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement