सल्यान । सल्यानमा आगलागीमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका–३ तिमिलेचौरका ६५ वर्षीय प्रेम बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार दिउँसो करिब ३ बजे श्रीमान श्रीमती घास काटन गएको बेला खरवारीमा अचानक आगलागी भएको थियो । आगो नियन्त्रण गर्ने क्रममा उनी आफैं आगलागीमा परेका थिए ।
आगलागीबाट बस्नेतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
घटनापछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक रतन शर्माको कमान्डमा पाँच जनाको टोली र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेको कमान्डमा सात जनाको टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।