काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको आक्रोशलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै महामन्त्री थापाले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने उल्लेख गर्नुभयो ।
उहाँले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको समेत खण्डन गर्नुभयो । उहाँले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनता असन्तुष्ट छन् । असन्तुष्ट भएका जनतामा आक्रोश छ । आक्रोशलाई नजरअन्दाज गर्नु हुँदैन भन्ने कुरा म पनि मान्दछु । केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले पनि राख्नुहुँदैन । जसले व्यवस्था परिवर्तनको लागि हामीलाई साथ दियो । जो आज हामीसँग असन्तुष्ट छ, जो रिसाएको छ उनीहरूसँग संवाद गर्नुपर्छ भन्ने ठान्दछु । तर वर्तमान सरकार आएसँगै उनीहरू रिसाएका हुन् भन्ने कुरामा चाहिँ कतै पनि चित्त बुझाउने ठाउँ छैन ।”
उहाँले व्यवस्थाको सुदृढीकरणका लागि संविधानका पक्षधरहरूबीच समझदारी हुन आवश्यक रहेको समेत बताउनुभयो ।