कांग्रेस-एमालेबीच सत्ता समीकरणको कसरत, माओवादी सशंकित

असार १७, २०८१ |दीपक आचार्य
कांग्रेस-एमालेबीच सत्ता समीकरणको कसरत, माओवादी सशंकित

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच संवाद सुरु भएपछि राजनीतिक वृत्तमा फेरि एकपटक तरंग आएको छ । संसद्को बाँकी कार्यकालमा मिलेर अगाडि बढ्ने गरी कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको सूचना बाहिरिएपछि त्यसलाई रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालको पनि दौडधूप सुरु भएको छ ।

एमाले अध्यक्षसँगको निरन्तर संवाद र पहिले गरिएका सहमतिअनुसारै अगाडि बढौं भन्ने प्रस्ताव दाहालले राखेपछि ओली फेरि आन्तरिक छलफलमा लाग्नुभएको छ । जसले दाहालको विकल्पमा जुनसुकै बेला नयाँ सरकार बन्ने संकेत देखिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पत्नी आरजु राणालाई लिएर एमाले अध्यक्ष ओली निवास पुगेर सत्ता सहकार्यका विषयमा छलफल गरेपछि नेपालको राजनीति पुन: एकपटक तरंगित भएको हो । त्यसअगाडि पनि औपचारिक/अनौपचारिक रुपमा भइरहेका छलफलमा मूर्त रुप दिन दुई नेताबीच खुला भेट भएको हो । देउवा र ओलीबीच शनिबार भएको छलफल सकारात्मक थियो । जसलाई सोमबार बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा देउवाले गरेको ब्रिफिङले पनि पुष्टि गरेको छ ।

देउवा र ओलीबीचको पछिल्लो छलफलबाट कांग्रेस पंक्ति नै उत्साहित देखिन्छ । तर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने देउवा र ओलीबीचको छलफललाई स्वभाविक लिनुपर्ने बताउनुहुन्छ ।

नयाँ सत्ता समीकरणका लागि कांग्रेस र एमालेबीचको संवादले आशाको सञ्चार गरेको कांग्रेस सांसदको भनाइ

देउवा र ओलीबीच के छलफल भयो भन्नेमा अरु नेता भने अन्योलमा देखिन्छन् । अझ ओलीका अभिव्यक्ति त झनै अलमल्याउने खालका छन् । सोमबार संसद् भवनमा उहाँले ठट्यौली पाराले यो वर्ष त आफू प्रधानमन्त्री हुन्न होला भन्ने प्रतिक्रिया दिनुभयो ।

सार्वजनिक प्रतिक्रिया जे जस्तो दिए पनि सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा ओली र देउवा लगभग सहमतिनजिक छन् । जसलाई मूर्त रुप दिने प्रयास जारी छ । तर मा‌ओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल भने नेपाली कांग्रेसले गरेको प्रयास ओली र प्रधानमन्त्री दाहालबीचको पछिल्लो छलफलले रोकिएको दाबी गर्नुहुन्छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकमा समेत प्रधानमन्त्री दाहालले बाह्य हल्ला जे भए पनि सरकार अगाडि बढ्ने भन्दै मन्त्रीहरुलाई आश्वस्त पार्न खोज्नुभएको छ ।

हेर्नुहोस् दीपक आचार्यका थप स्टोरी ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।