एमालेसँगको समझदारीअनुसारै अघि बढ्ने कांग्रेसको निर्णय

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेसँगको समझदारीअनुसारै अघि बढ्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सत्ता समीकरणका विषयमा नेकपा एमालेसँग भएको समझदारीअनुसार नै अघि बढ्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले एमालेसँग भएको समझदारीअनुसार अघि बढ्ने निर्णय गरेको हो । बैठकमा सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गएराति भएको समझदारीबारे जानकारी दिनुभएको थियो । 

नेताहरूका अनुसार देउवाले एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने जानकारी गराउनुभएको थियो । बैठकमा संविधान संशोधनलगायतका विषयमा पनि सहमति कायम गरेर अघि बढ्ने र त्यसका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय कांग्रेसले गरेको छ ।

कांग्रेस पदाधिकारीको बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले सभापति देउवालाई टेलिफोन गर्नुभएको थियो । त्यस क्रममा दाहालले कांग्रेस, माओवादी केन्द्र, रास्वपालगायतका दल मिलेर सरकार गठन गर्न प्रस्ताव गर्नुभएको थियो । तर दाहालको प्रस्तावलाई देउवाले अस्वीकार गर्नुभएको कांग्रेसका एक नेताले जानकारी दिनुभयो ।

एमालेसँग भएको समझदारी अनुमोदन गर्न कांग्रेसले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

सम्बन्धित समाचार...

मध्यरातमा सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई

देउवालाई दाहालको फोन : रास्वपासहितको गठबन्धन बनाऊँ, देउवाको जवाफ- त्यो च्याप्टर क्लोज भइसक्यो

मध्यराति सत्ता फेर्ने सहमति गरिएपछि मेयर बालेनको स्ट्याटस- ‘यो समय गिरिबन्धु चियाको हो’

दाहालले प्रधानमन्त्री पदबाट राजीनामा नदिने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.