चिनौं पुष्पकमल दाहाल नेतृत्व सरकारका २३ मन्त्री !

माघ ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
चिनौं पुष्पकमल दाहाल नेतृत्व सरकारका २३ मन्त्री !

काठमाडौं । नेकपा एमालेलगायतको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहालले भोलिपल्ट अर्थात् पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । पुस ११ मा आफूसँगै सात सदस्यीय मन्त्रीमण्डल बनाएका दाहालले आज (मंगलबार) दोस्रोपटक विस्तार गरेका छन् । शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

मंगलबार सत्ता साझेदार दलहरुबीच भएको भागबन्डाअनुसार प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गरेका हुन् । दाहालले मंगलबार थप १५ मन्त्री नियुक्त गरे । अर्थात अब दाहाल नेतृत्वको सरकार २३ सदस्यीय बनेको छ ।

सत्ता साझेदार ठूलो दल नेकपा एमालेबाट थप चार मन्त्री नियुक्त भएका छन् । एमालेले आठ मन्त्रालय पाएको छ ।

माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । माओवादीबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन् ।

यसैगरी, दाहाल नेतृत्वको सरकारमा राप्रपा र रास्वपाका ३-३ मन्त्री थपिएका छन् । यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहायबमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरिएको उल्लेख छ ।

००

नेकपा माओवादी केन्द्रबाट मन्त्रीमा नियुक्त

१. पुष्पकमल दाहाल : प्रधानमन्त्री, वन तथा वातावरण, युवा तथा खेलकुद

२. नारायणकाजी श्रेष्ठ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री

३. रेखा शर्मा : सूचना, सञ्चार तथा प्रविधिमन्त्री

४. सुदन किराती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

५. अमनलाल मोदी : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

६. सुशीला श्रीपाली : संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री

०००

नेकपा एमालेबाट मन्त्रीमा नियुक्त

१. विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री

२. ज्वालाकुमारी साह : कृषि तथा पशुपक्षी विकासमन्त्री

३. दामोदर भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

४. राजेन्द्रकुमार राई : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री

५. विमला राई पौड्याल : परराष्ट्रमन्त्री

६. पदम गिरी : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

७. भगवती चौधरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

८. हरिप्रसाद उप्रेती : रक्षामन्त्री

०००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री

१. रवि लामिछाने : उपप्रधानमन्त्री एवं गृहमन्त्री

२. शिशिर खनाल : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

३. डोलप्रसाद अर्याल : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

४. डा. तोसिमा कार्की : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

०००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरु

१. राजेन्द्रप्रसाद लिङ्देन : उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ

२. विक्रम पाण्डे : सहरी विकासमन्त्री

३. ध्रुवबहादुर प्रधान : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

४. दीपकबहादुर सिंह : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री

०००

जनमत पार्टी तर्फका मन्त्री

अब्दुल खान : खानेपानीमन्त्री

०००

नेकपा माओवादी केन्द्र

१. पुष्पकमल दाहाल : प्रधानमन्त्री, वन तथा वातावरण, युवा तथा खेलकुद

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा र जनमत पार्टीको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन् । उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।

२०२८ सालमा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका दाहालले २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए । २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । २०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी २०४१ सालमा नेकपा (मशाल) को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र) को महामन्त्री भए । यसैगरी २०५१ मा तत्कालीन नेकपा-एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका दाहालले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए ।

दाहाल २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौंमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । उनी २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र २ बाट विजयी भएका हुन् ।

२. नारायणकाजी श्रेष्ठ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका नारायणकाजी श्रेष्ठ यसअघि पनि पटक-पटक मन्त्री भइसकेका माओवादी नेता हुन् । गोरखाको जौबारीमा २०१६ सालमा जन्मिएका श्रेष्ठले पार्टीको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका मन्त्री श्रेष्ठ हालसम्म अविवाहित छन् । पार्टीमा प्रस्टवक्ताका रुपमा छवि बनाएका श्रेष्ठ सादगी नेताका रुपमा परिचित छन् ।

उनी ०३३ सालदेखि राजनीतिमा लागेका हुन् । माओवादी शान्तिप्रक्रियामा आइसकेपछि २०६५ सालमा माओवादी र उनी नेतृत्वको एकता केन्द्रबीच पार्टी एकता भयो । त्यसपछि श्रेष्ठ नेकपा एकीकृत माओवादीको उपाध्यक्ष बनेका थिए । भूमिगत सशस्त्र संघर्षमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन त्यसबेला श्रेष्ठ र उनको पार्टीका अर्का नेता अमिक शेरचनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

३. रेखा शर्मा : सूचना, सञ्चार तथा प्रविधिमन्त्री

दाङ क्षेत्र नम्बर २ बाट विजयी माओवादी नेतृ रेखा शर्माले लुम्बिनीका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेललाई पराजित गरेकी हुन् । दाङको घोराही उपमहानगरपालिकाकी स्थायी बासिन्दा शर्माले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् । २०२६ सालमा जन्मिएकी शर्मा सशस्त्र द्वन्द्वकालमा २०५८ चैतदेखि २०५९ चैतसम्म एक वर्ष सैनिक हिरासतमा बसिन् ।

२०४२ सालमा अनेरास्ववियुको स्कुल एकाइ कमिटीबाट विद्यार्थी राजनीतिको सुरुवात गरेकी शर्मा २०५१ सालमा वाईसीएलको केन्द्रीय सदस्य बनेकी थिइन् । २०५७ सालमा उनी नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५३ देखि २०५८ सम्म अनेमसंघ क्रान्तिकारीको अध्यक्ष बनेकी हुन् । २०७५ मा नेकपामा केन्द्रीय सदस्य, २०७९ मा माओवादी स्थायी कमिटी सदस्य बनेकी हुन् । उनी संविधानसभा सदस्य निर्वाचन २०७० मा माओवादी केन्द्रका तर्फबाट समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् । २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भइन् । यसपटक उनी सूचना, सञ्चार तथा प्रविधिमन्त्री बन्न सफल भइन् ।

४. सुदन किराती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किराती प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका तर्फबाट भोजपुरबाट निर्वाचित भएका हुन् । उनी २०३५ सालमा भोजपुरमै जन्मिएका हुन् । २०४६ सालको जनआन्दोलनपछि विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिमा प्रवेश गरेका किराती पार्टीको केन्द्रीय सदस्यसमेत हुन् ।

२०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा माओवादीका तर्फबाट भोजपुर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । करिब ९ वर्ष भूमिगत जीवन बिताएका किराती झन्डै २३ महिना बन्दी जीवन बिताएका थिए ।

५. अमनलाल मोदी : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् । २०४२ सालमा जन्मिएका मोदीले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । राजनीतिक आन्दोलनका क्रममा मोदी २०६० सालमा पक्राउ पर्दा २७ महिना जेल बसेका थिए । यसअघि २०७० सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा पनि मोदी विजयी भएका थिए ।

उनी २०५३ सालदेखि माओवादीसँग आबद्ध छन् । मोदी २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य । माओवादीको जिल्ला र केन्द्र तहमा विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका छन् ।

६. सुशीला श्रीपाली : संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री

माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेको सुशीला श्रीपालीलाई पुष्पकमल दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनाएका छन् । २०६८ सालमा दलित आयोगको सदस्य बनेकी श्रीपाली २०४६ देखि कम्युनिस्ट आन्दोलनमा संलग्न छिन् ।

२०५४ सम्म भारतमै रहेर माओवादी आन्दोलनमा सहभागी उनी २०५४ भदौदेखि नेपालमा आएर पार्टीमा संलग्न भएकी थिइन् । समानुपातिक सांसद श्रीपालीका पति डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत नेपाली सेनामा कार्यरत छन् । उनी राजधानीबाहिर भएकाले शपथ लिन भने पाइनन् ।

०००

नेकपा एमाले

१. विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री

२. ज्वालाकुमारी साह : कृषि तथा पशुपक्षी विकासमन्त्री

३. दामोदर भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

४. राजेन्द्रकुमार राई : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री

५. विमला राई पौड्याल : परराष्ट्रमन्त्री

६. पदम गिरी : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

७. भगवती चौधरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

८. हरिप्रसाद उप्रेती : रक्षामन्त्री

१. विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री

पटक-पटक लाभको पदमा बसेका नेकपा एमालेका प्रभावशाली नेता पार्टीका तर्फबाट नेतृत्व गर्दै पुष्पकमल दाहाल सरकारमा सहभागी छन् । विभिन्न विवादमा सञ्चारमाध्यममा छाइरहने पौडेल पार्टीका प्रभावशाली नेतासँगै अध्यक्ष केपी ओलीका विश्वासिला पात्रका रुपमा परिचित छन् । यसपालि उनी उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारीमा दाहाल नेतृत्वको सरकारमा पार्टीका तर्फबाट नेतृत्व गरिरहेका छन् ।

२०१६ सालमा जन्मिएका एमाले नेता पौडेलसँग यसअघि पनि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको अनुभव छ । उनी प्रतिनिधिसभा सदस्य २०५१, संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा रुपन्देही ४ बाट निर्वाचित भएका थिए । यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा रुपन्देही २ बाट उनी निर्वाचित भएका थिए । उनी २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भएका हुन् ।

२०३५ देखि २०४६ सालसम्म भूमिगत रहेका पौडेललाई २०३७ मा तीन वर्ष जेल र तीन हजार जरिवाना तोकिएको थियो । तर ४५ दिनमै जेल विद्रोह गरी भाग्न सफल पौडेल २०३५ असोजमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोओर्डिनेसन कमिटी (माले) को सदस्य बने । उनी २०३५ मंसिरदेखि पूर्णकालीन सदस्य बने भने २०४१ मा नेकपा (माले) को जिल्ला कमिटी सचिव बन्न सफल रहे । २०४७ नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य, २०५९ देखि एमाले स्थायी कमिटी सदस्य, २०६५ देखि एमाले केन्द्रीय कमिटी सचिवऽ २०७१ को नवौँ महाधिवेशनपछि एमाले केन्द्रीय कमिटी उपमहासचिव तथा नेकपामा महासचिव र सचिवालय सदस्य २०७५ मा भएका थिए । पौडेल अहिले नेकपा एमालेका उपाध्यक्ष पनि हुन् ।

२. ज्वालाकुमारी साह : कृषि तथा पशुपक्षी विकासमन्त्री

पूर्वमाओवादी नेतृ ज्वालाकुमारी साह तत्कालीन नेकपा छुट्टिएपछि नेकपा एमालेमा लागेकी हुन् । उनी २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा बारा ३ (क) बाट प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी थिइन् । २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन् ।

एमाले अध्यक्ष केपी ओलीनजिक मानिने साह पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीमण्डलमा कृषि तथा पशुपक्षी विकासमन्त्री बनेकी छन् । यसअघि २०६६ मा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी थिइन् । यस्तै २०६८ मा पर्यटन राज्यमन्त्री र पछिल्लोपटक ओली नेतृत्वको सरकारमा साह १३ दिनका लागि कृषिमन्त्री बनेकी थिइन् ।

२०३८ सालमा जन्मिएकी साहले स्नातकसम्मको अध्ययन गरेकी छन् । २०५४ देखि भूमिगत भएर नेकपा माओवादीबाट उनले विद्यार्थी राजनीति सुरु गरेकी हुन् ।

३. दामोदर भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

बैतडीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तर्फबाट निर्वाचित दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । यसअघि उनी २०७२ मा केपी ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री नियुक्त भएका थिए । यसअघि भण्डारी २०७० र २०७४ मा पनि सांसद बनेका थिए ।

२०३० सालमा जन्मिएका भण्डारी सुदूरपश्चिम प्रदेश कमिटीका एमाले अध्यक्ष पनि हुन् । २०४८ सालमा अनेरास्ववियू बैतडी जिल्ला कमिटीको अध्यक्ष बनेका भण्डारी २०५० मा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बनेका थिए । स्नातकसम्मको अध्ययन पूरा गरेका उनी बैतडी जिल्ला अध्यक्ष हुँदै २०७५ मा नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनेका थिए ।

२०६४ देखि २०७० सम्म पाटन बहुमुखी क्याम्पसको दुई कार्यकाल अध्यक्ष बनेका उनी मदन भण्डारी फाउन्डेसनमा केन्द्रीय सदस्यसमेत छन् ।

४. राजेन्द्रकुमार राई : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री

धनकुटाबाट प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् । २०२२ सालमा पाख्रिबास ७, राम्चेगाउँमा जन्मिएका राई पहिलोपटक मन्त्री बनेका हुन् । स्नातकसम्मको अध्ययन पूरा गरेका राई ०७४ सालको निर्वाचनमा पनि धनकुटाबाट निर्वाचित भएका थिए ।

०४९ सालमा जिल्ला विकास समितिको सदस्यमा पहिलोपटक जनप्रतिनिधि निर्वाचित भएका थिए । ०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएलसी दिएलगत्तै उनी पूर्णकालीन राजनीतिमा लागेका हुन् । २०४७ मा अनेरास्ववियुको धनकुटा जिल्ला अध्यक्ष भएका राईले एमालेको युवा संगठन तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनमा पनि काम गरे । ०६६ असारमा भएको जिल्ला अधिवेशनबाट एमालेको धनकुटा जिल्ला अध्यक्षमा निर्वाचित भएका उनले दुई कार्यकाल कार्यकाल नेतृत्व गरे । ०७८ मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट राई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । अहिले उनी एमालेको धनकुटा इन्चार्जको जिम्मेवारीमा पनि छन् ।

५. विमला राई पौड्याल : परराष्ट्रमन्त्री

संघीय संसद्‌को राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले नेदरल्याण्डको इन्स्टिच्युट अफ सोसियल स्टडिजबाट विकास अध्ययनमा विद्यावारिधि गरेकी छन् । उनी नेकपा एमालेका तर्फबाट परराष्ट्रमन्त्री बनेकी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातकको अध्ययन पूरा गरेकी छन् । राष्ट्रिय योजना आयोगको पूर्वसदस्यसमेत रहेकी विमला अर्थशास्त्रीका रुपमा समेत परिचित छिन् ।

उनले रिकफ नेपालमा सन् २०११ देखि २०१७ र ओपन सोसाइटी फाउन्डेसनको सन् २०१६ देखि २०१८ सम्म यूएन ओमन इन नेपालमा रही काम गरेकी छन् । सन् २०१६ देखि २०१८ सम्म यूएन ओमनका लागि प्रांगारिक कृषिसम्बन्धी उच्चस्तरीय कार्यदल र नागरिक समाजको सल्लाहकार समूह सदस्यको भूमिकासमेत निर्वाह गरेको अनुभव विमलासँग छ ।

६. पदम गिरी : स्वास्थ्य तथा जनसंख्यामन्त्री

२०६२ सालमा पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियू सभापति हुँदै पार्टी राजनीतिमा होमिएका नेकपा एमालेका नेता पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन् । २०५४ मा नेकपा एमाले दुर्लुङ गाउँ कमिटी सचिवबाट पार्टीको सक्रिय राजनीतिमा आबद्ध उनी २०५५ सालमा अनेरास्ववियू पृथ्वी नारायण क्याम्पसको प्रारम्म्भिक कमिटीको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए । २०५७ मा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष बनेका गिरी स्ववियुको उपसमितिमा निर्वाचित भएका थिए । उनी २०७४ र २०७९ को निर्वाचनमा पर्वतबाट प्रत्यक्ष निर्वाचित भएका । २०३३ सालमा जन्मिएका पदमले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पर्वत १ बाट निर्वाचित पदमको यो पहिलो संसदीय अनुभव हो ।

७. भगवती चौधरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य एवं सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेकी छन् । २०२८ सालमा जन्मिएकी सुनसरीकी भगवतीले समाजशास्त्र र व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् । अहिले विद्यावारिधि गरिरहेकी भगवती २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्य प्राप्त गर्दै राजनीतिमा आबद्ध भएकी हुन् । २०६४ मा नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य, ०७० मा अञ्चल समन्वय कमिटी सदस्य, नेकपा एमालेको नवौं र २०७८ को चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोगार केन्द्रीय विभागको उपप्रमुख बनेकी भगवती अहिले पार्टीको सुनसरी सह-इन्चार्जसमेत छिन् । उनी अखिल महिला संघको केन्द्रीय सचिवालय सदस्य तथा गरिबी निवारण विभागको सचिवसमेत हुन् ।

२०७० को दोस्रो संविधानसभामा सुनसरी क्षेत्र ३ बाट विजयकुमार गच्छदारसँग पराजित भगवती २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सुनसरी ३ बाट पराजित भएकी थिइन् । यसअघि उनी २०६८ भदौ १२ मा (करिब ६ महिना) वन तथा भू-संरक्षण राज्यमन्त्री बनेकी थिइन् ।

८. हरिप्रसाद उप्रेती : रक्षामन्त्री

सर्लाही ३ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हरिप्रसाद उप्रेती रक्षामन्त्रीमा नियुक्त भएका छन् । २०२४ सालमा जन्मिएका उप्रेतीले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । उनी २०३७ सालमा हरिवनस्थित चतुर्भुजेश्वर माविबाट अनेरास्ववियुबाट निर्वाचित हुँदै राजनीतिमा आबद्ध भएका हुन् भने २०४४ सालमा पार्टीको सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । रक्षामन्त्री बनेका उप्रेती २०७० सालमा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सर्लाहीबाट निर्वाचित भएका थिए । उनी २०७० सालको दोस्रो संविधानसभामा निर्वाचित भएपछि वातावरण समितका सदस्य बनेका थिए ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी

१. रवि लामिछाने : उपप्रधानमन्त्री एवं गृहमन्त्री

२. शिशिर खनाल : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

३. डोलप्रसाद अर्याल : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

४. डा. तोसिमा कार्की : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

०००

१. रवि लामिछाने : उपप्रधानमन्त्री एवं गृहमन्त्री

टेलिभिजन प्रस्तोताका रुपमा ख्याति कमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्षसमेत रहेका रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पुस ११ गते नै नियुक्त भइसकेका छन् । पहिलोपटक संसदीय चुनावमा सहभागी बनेको रास्वपाले समानुपातिक र प्रत्यक्षतर्फ गरी प्रतिनिधिसभामा २० सिट जित्न सफल भएको छ । लामिछानेको नेतृत्वको रास्वपामा अधिकांश सांसद युवा छन् । नागरिकताको विषयमा विवादित बनेका लामिछाने पत्रकारिता होस् चाहे व्यक्तिगत जीवन होस् विवादको घेरामा छाइरहने व्यक्ति हुन् ।

उनी गृहमन्त्री बनेसँगै समर्थन र विरोध गर्नेहरु उत्तिकै बढिरहेका छन् । ४७ वर्षीय लामिछाने राजनीतिमा आउनुअघि टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत थिए । रास्वपाबाट मन्त्री बन्ने सबै नयाँ अनुहार हुन् । उनीहरु पहिलोपटक संसद्‌मा पुगेसँगै मन्त्री बन्ने अवसर पनि पहिलोपटक नै पाएका हुन् । लामिछाने चितवन निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

२. शिशिर खनाल : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

टिच फर नेपालका संस्थापक तथा शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्न सफल भएका छन् । उनी शिक्षामन्त्री भएकामा ठीक मानिस आएको भन्दै सामाजिक सन्जालमा प्रशंसाहरु भइरहेका छन् । खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा चुनिएका हुन् । ४३ वर्षीय खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् ।

३. डोलप्रसाद अर्याल : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । पार्टीको उपसभापतिसमेत रहेका अर्याल रेमिट्यान्स व्यवसायी पनि हुन् । धादिङका अर्यालले केही समय जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा पनि काम गरेका थिए ।

४. डा. तोसिमा कार्की : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

चिकित्सकसमेत रहेकी डा. तोसिमा कार्कीलाई रास्वपाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएको छ । कार्की ललितपुरको क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

०००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

१. राजेन्द्रप्रसाद लिङ्देन : उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ

२. विक्रम पाण्डे : सहरी विकासमन्त्री

३. ध्रुवबहादुर प्रधान : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

४. दीपकबहादुर सिंह : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री

१. राजेन्द्रप्रसाद लिङ्देन : उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ

राप्रपाका अध्यक्षसमेत रहेका राजेन्द्रप्रसाद लिङ्देन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा विजयी लिङ्देनको राजनीतिक यात्रा २०३६ सालदेखि राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भई सुरु भएको हो ।

२०२२ सालमा जन्मिएका लिङ्देनले स्नातकसम्मको अध्ययन गरेका छन् । २०४९ मा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष बनेका लिङ्देन

२०४७ मा राप्रपा झापाको सचिव बनेका थिए । २०६६ मा राप्रपा नेपालको केन्द्रीय सदस्य बनेका लिङ्देन २०४७ पछि स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला तहको पदाधिकारीदेखि राप्रपाको महामन्त्री हुँदै हाल केन्द्रीय अध्यक्षका बनेका हुन् ।

उनी २०७४ मा संघीय संसद् प्रतिनिधिसभा सदस्यमा झापा ३ बाट निर्वाचित भए । २०६१ देखि २०६३ सम्म उनी जिल्ला विकास समिति झापाको सभापति बनेका थिए भने तत्कालीन स्थानीय निकायको निर्वाचित वडाध्यक्षको जिम्मेवारी निर्वाह पनि गरेका थिए ।

२. विक्रम पाण्डे : सहरी विकासमन्त्री

व्यवसायीको पहिचान बनाए विक्रम पाण्डे सहरी विकासमन्त्री बनेका छन् । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित पाण्डे विवादित निर्माण व्यवसायीका रुपमा परिचित छन् ।

सूर्यबहादुर थापाले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्थापनाकालदेखि नै आबद्ध हुँदै चितवनबाट राजनीतिक यात्रा सुरु गरेका पाण्डे पार्टीको चितवन जिल्ला उपाध्यक्ष र पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए । अहिले राप्रपाको केन्द्रीय उपाध्यक्षसमेत रहेका पाण्डे २०७० को संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन ५ बाट विजयी भएका थिए ।

यसअघि २०७३ सालको साउनमा भूमिसुधारमन्त्री र २०७४ सालको भदौमा पाण्डे वनमन्त्री बनेका थिए ।

३. ध्रुवबहादुर प्रधान : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

नेपाल प्रहरीका आईजीपीबाट अवकास पाएका ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बन्न सफल भएका छन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट विजयी भएका हुन् । प्रधान राप्रपाका उपाध्यक्षसमेत हुन् ।

४. दीपकबहादुर सिंह : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री

राप्रपाका नेता दीपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका छन् । उनी २०७९ मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ राप्रपाबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) लाई २,३९३ मतान्तरले पराजित गरेका थिए ।

०००

जनमत पार्टी

अब्दुल खान : खानेपानीमन्त्री

जनमत पार्टी उपाध्यक्षसमेत रहेका बर्दियाका अब्दुल खान खानेपानी मन्त्री बनेका छन् । समानुपातिक सांसद खान २०६९ सालमा स्वतन्त्र मधेस आन्दोलनमा लागेर लामो समयसम्म भूमिगत भएका थिए । २०४३ सालमा जन्मिएका खान एनजीओको जागिर छाडेर जनमत पार्टीमा लागेका थिए । २०७७ मा जनमत पार्टीको महाधिवेशनमा खान अत्यधिक मत प्राप्त गरी उपाध्यक्ष चुनिएका थिए ।

सरकारलाई समर्थन गरेका तर भागबन्डा र माग सरकारले पूरा नगरेपछि उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा सहभागी भएन । यस्तै रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी भएन ।

०००

राप्रपाका मन्त्री कस्ता ?
दाहालको मन्त्रिपरिषद्‌ : अनुहार नयाँ हेरियो, समावेशिता हेरिएन
यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री
चिनौं एमालेका मन्त्री !
चिनौं दाहाल नेतृत्वको मन्त्रीमण्डलमा सहभागी माओवादीका मन्त्री !
मन्त्रालयले दिने सेवा प्रभावकारी बनाउने परराष्ट्रमन्त्रीको प्रतिबद्धता, यी हुन् तीन प्राथमिकता
माओवादीबाट अमनलाल मोदी सामान्य प्रशासनमन्त्री, राज्यमन्त्रीमा सुशीला श्रीपाली
मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ
यस्तो बन्यो दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)
किन सरकारमा सहभागी भएनन् जसपा र लोसपा ?
राजनैतिक खेलका चतुर खेलाडी : पुष्पकमल दाहाल (भिडियो रिपोर्ट)
दौरासुरुवाल लगाएर पुष्पकमल दाहालले लिए प्रधानमन्त्रीको शपथ
मन्त्री ज्वालाकुमारी साहले पदभार सम्हालेसँगै गरिन् २ निर्णय

मन्त्रिपरिषद्ले पायो पूर्णता । नवनियुक्त मन्त्रीहरुले लिए शपथ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement