चिनौं दाहाल नेतृत्वको मन्त्रीमण्डलमा सहभागी माओवादीका मन्त्री !

माघ ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
चिनौं दाहाल नेतृत्वको मन्त्रीमण्डलमा सहभागी माओवादीका मन्त्री !

काठमाडौं । नेकपा एमालेलगायतको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहालले आज (मंगलबार) दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

मंगलबार सत्ता साझेदार दलहरुबीच भएको भागबन्डाअनुसार प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गरेका हुन् । दाहालले मंगलबार थप १५ मन्त्री नियुक्त गरे । अर्थात् अब दाहाल नेतृत्वको सरकार २३ सदस्यीय बनेको छ ।

माओवादीबाट भने तीन मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । माओवादीबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन् । माओवादी केन्द्रका तर्फबाट मन्त्री बन्नेहरुको सूची यस्तो छ ।

००

नेकपा माओवादी केन्द्रबाट नियुक्त

१. पुष्पकमल दाहाल : प्रधानमन्त्री, वन तथा वातावरण, युवा तथा खेलकुद

२. नारायणकाजी श्रेष्ठ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री

३. रेखा शर्मा : सूचना, सञ्चार तथा प्रविधिमन्त्री

४. सुदन किराती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

५. अमनलाल मोदी : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

६. सुशीला श्रीपाली : संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री

०००

पुष्पकमल दाहाल : प्रधानमन्त्री, वन तथा वातावरण, युवा तथा खेलकुद

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा र जनमत पार्टीको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन् । उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।

२०२८ सालमा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका दाहालले २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए । २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । २०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी २०४१ सालमा नेकपा (मशाल) को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र) को महामन्त्री भए । यसैगरी २०५१ मा तत्कालीन नेकपा-एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका दाहालले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए ।

दाहाल २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौंमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । उनी २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र २ बाट विजयी भएका हुन् ।

नारायणकाजी श्रेष्ठ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका नारायणकाजी श्रेष्ठ यसअघि पनि पटक-पटक मन्त्री भइसकेका माओवादी नेता हुन् । गोरखाको जौबारीमा २०१६ सालमा जन्मिएका श्रेष्ठले पार्टीको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका मन्त्री श्रेष्ठ हालसम्म अविवाहित छन् । पार्टीमा प्रस्टवक्ताका रुपमा छवि बनाएका श्रेष्ठ सादगी नेताका रुपमा परिचित छन् ।

उनी ०३३ सालदेखि राजनीतिमा लागेका हुन् । माओवादी शान्तिप्रक्रियामा आइसकेपछि २०६५ सालमा माओवादी र उनी नेतृत्वको एकता केन्द्रबीच पार्टी एकता भयो । त्यसपछि श्रेष्ठ नेकपा एकीकृत माओवादीको उपाध्यक्ष बनेका थिए । भूमिगत सशस्त्र संघर्षमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन त्यसबेला श्रेष्ठ र उनको पार्टीका अर्का नेता अमिक शेरचनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

रेखा शर्मा : सूचना, सञ्चार तथा प्रविधिमन्त्री

दाङ क्षेत्र नम्बर २ बाट विजयी माओवादी नेतृ रेखा शर्माले लुम्बिनीका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेललाई पराजित गरेकी हुन् । दाङको घोराही उपमहानगरपालिकाकी स्थायी बासिन्दा शर्माले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् । २०२६ सालमा जन्मिएकी शर्मा सशस्त्र द्वन्द्वकालमा २०५८ चैतदेखि २०५९ चैतसम्म एक वर्ष सैनिक हिरासतमा बसिन् ।

२०४२ सालमा अनेरास्ववियुको स्कुल एकाइ कमिटीबाट विद्यार्थी राजनीतिको सुरुवात गरेकी शर्मा २०५१ सालमा वाईसीएलको केन्द्रीय सदस्य बनेकी थिइन् । २०५७ सालमा उनी नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५३ देखि २०५८ सम्म अनेमसंघ क्रान्तिकारीको अध्यक्ष बनेकी हुन् । २०७५ मा नेकपामा केन्द्रीय सदस्य, २०७९ मा माओवादी स्थायी कमिटी सदस्य बनेकी हुन् । उनी संविधानसभा सदस्य निर्वाचन २०७० मा माओवादी केन्द्रका तर्फबाट समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् । २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भइन् । यसपटक उनी सूचना, सञ्चार तथा प्रविधिमन्त्री बन्न सफल भइन् ।

सुदन किराती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किराती प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका तर्फबाट भोजपुरबाट निर्वाचित भएका हुन् । उनी २०३५ सालमा भोजपुरमै जन्मिएका हुन् । २०४६ सालको जनआन्दोलनपछि विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिमा प्रवेश गरेका किराती पार्टीको केन्द्रीय सदस्यसमेत हुन् ।

२०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा माओवादीका तर्फबाट भोजपुर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । करिब ९ वर्ष भूमिगत जीवन बिताएका किराती झन्डै २३ महिना बन्दी जीवन बिताएका थिए ।

अमनलाल मोदी : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् । २०४२ सालमा जन्मिएका मोदीले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । राजनीतिक आन्दोलनका क्रममा मोदी २०६० सालमा पक्राउ पर्दा २७ महिना जेल बसेका थिए । यसअघि २०७० सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा पनि मोदी विजयी भएका थिए ।

उनी २०५३ सालदेखि माओवादीसँग आबद्ध छन् । मोदी २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य । माओवादीको जिल्ला र केन्द्र तहमा विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका छन् ।

सुशीला श्रीपाली : संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री

माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेको सुशीला श्रीपालीलाई पुष्पकमल दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनाएका छन् । २०६८ सालमा दलित आयोगको सदस्य बनेकी श्रीपाली २०४६ देखि कम्युनिस्ट आन्दोलनमा संलग्न छिन् ।

२०५४ सम्म भारतमै रहेर माओवादी आन्दोलनमा सहभागी उनी २०५४ भदौदेखि नेपालमा आएर पार्टीमा संलग्न भएकी थिइन् । समानुपातिक सांसद श्रीपालीका पति डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत नेपाली सेनामा कार्यरत छन् । उनी राजधानीबाहिर भएकाले शपथ लिन भने पाइनन् ।

सरकारलाई समर्थन गरेका तर भागबन्डा र माग सरकारले पूरा नगरेपछि उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा सहभागी भएन । यस्तै रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी भएन ।

माओवादीबाट अमनलाल मोदी सामान्य प्रशासनमन्त्री, राज्यमन्त्रीमा सुशीला श्रीपाली
मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ

यस्तो बन्यो दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)
किन सरकारमा सहभागी भएनन् जसपा र लोसपा ?
राजनैतिक खेलका चतुर खेलाडी : पुष्पकमल दाहाल (भिडियो रिपोर्ट)
दौरासुरुवाल लगाएर पुष्पकमल दाहालले लिए प्रधानमन्त्रीको शपथ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.