दाहालको मन्त्रिपरिषद्‌ : अनुहार नयाँ हेरियो, समावेशिता हेरिएन

माघ ३, २०७९ |दीपक आचार्य
दाहालको मन्त्रिपरिषद्‌ : अनुहार नयाँ हेरियो, समावेशिता हेरिएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विस्तार गरेको मन्त्रिपरिषद्‍मा अधिकांश नयाँ अनुहार समेटिएका छन् । उनको २३ सदस्यीय मन्त्रिपरिषद्‍मा ‍१६ जना पहिलो पटक मन्त्री भएका छन् । 

दाहालले भाग पुर्‍याउने नाममा ४ जनालाई उपप्रधानमन्त्री बनाएका छन् । तर समावेशितालाई भने ध्यान दिइएको छैन । मन्त्रिपरिषद्‍मा ६ जना महिला समेटिँदा दलित समुदायबाट भने एक जना राज्यमन्त्रीले मात्र स्थान पाए ।

१६ जना पहिलो पटक मन्त्री बन्दा समावेशिताको बेवास्ता ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा थप १२ जनालाई मन्त्री र ३ जनालाई राज्यमन्त्री बनाए । यसअघि पहिलो चरणमा दाहालले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । पहिलो चरणमा तीन जना उपप्रधानमन्त्री बनाएका दाहालले दोस्रो चरणमा एक जना थप गरे ।

दाहालको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री भए । पहिलो चरणमा मन्त्री बनाए पनि जिम्मेवारी नपाएकाहरूका लागि अब मन्त्रालय तोकिएको छ । एमालेबाट मन्त्री बनेकी राष्ट्रियसभा सदस्य बिमला पौडेल राईले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छन् । 

२०७४ सालमा राष्ट्रियसभामा मनोनित राई २०८० फागुनसम्म संसद् सदस्य रहने छिन् । २०७१ सालमा राष्ट्रिय योजना आयोगको सदस्यमा १६ महिना र विभिन्न गैरसरकारी संस्थामा काम गरेका अनुभव उनीसँग छ । पर्वत जिल्लाबाट प्रत्यक्ष निर्वाचित पदम गिरी पनि पहिलो पटक मन्त्री बनेका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका गिरी दुई पटक प्रतिनिधिसभा सदस्य बनेका छन् । 

रक्षा मन्त्रालयको जिम्मेवारी पाएका सर्लाहीबाट निर्वाचित हरिप्रसाद उप्रेती पनि पहिलो पटक मन्त्री बनेका हुन । कृषि मन्त्रालयको जिम्मेवारी पाएकी ज्वालाकुमारी साह बाराबाट प्रत्यक्ष निर्वाचित हुन् । माओवादी केन्द्रमा लामो राजनीति गरेकी साह पछिल्लो पटक एमालेबाट निर्वाचित भएकी थिइन् । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा उनी १३ दिन मन्त्री बनेकी थिइन् ।

मन्त्री ज्वालाकुमारी साहले पदभार सम्हालेसँगै गरिन् २ निर्णय

उद्योग मन्त्रालयको जिम्मेवारी पाएका बैतडीबाट निर्वाचित एमालेका दामोदर भण्डारी २०७०, २०७४ र २०७९ गरी तीनपटक सांसद बनेका छन् । संविधानसभाको सदस्य हुँदा उनले अर्थ राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । धनकुटाबाट निर्वाचित एमालेकै राजेन्द्रकुमार राई र सुनसरीबाट निर्वाचित भगवती चौधरी पनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् ।

माओवादी केन्द्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेकी रेखा शर्माले दाङ २ बाट एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित हुन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय अध्यक्षसमेत भइसकेकी शर्मा २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सांसद थिइन् । उनीसँग यसअघि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हालेका सुदन किराँती पहिलो पटक मन्त्री भएका हुन् । भोजपुरबाट तेस्रोपटक निर्वाचित उनी माओवादीका पोलिटब्यूरो सदस्य हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका माओवादी केन्द्रका अमनलाल मोदी २०७० सालदेखि लगातार संसद्‍मा छन् । २०७० मा समानुपातिक सांसद बनेका मोदी २०७४ र २०७९ को निर्वाचनमा मोरङ–४ बाट निर्वाचित भए । उनी अहिले पार्टीको केन्द्रीय सदस्यको हैसियतमा छन् ।

माओवादीबाट अमनलाल मोदी सामान्य प्रशासनमन्त्री

यता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–६ बाट निर्वाचित शिशिर खनाल पहिलोपटक मन्त्री बनेका हुन् । उनले शिक्षा मन्त्रालयले जिम्मेवारी पाएका छन् । टिच फर नेपालका सह–संस्थापक खनाल १० वर्ष शिक्षा क्षेत्रमा काम गरेको अनुभव छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल पनि पहिलो पटक मन्त्री बनेका हुन् । उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी वैदेशिक रोजकार व्यवसायसँग सम्बन्धित छन् । ललितपुर–३ बाट निर्वाचित तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन । चिकित्सा शिक्षा अध्ययन गरेकी कार्कीलाई विज्ञताकै आधारमा स्वास्थ्य मन्त्रालयमा पठाइएको हो ।

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री

राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट सरकारको नेतृत्व गरेका राजेन्द्र लिङ्देनले उपप्रधानसहित ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । लिङ्देन पनि पहिलो पटक मन्त्री बनेका हुन् । नेपाल प्रहरीको प्रमुख भइसकेका र पहिलो पटक मन्त्री बनेका ध्रुवबहादुर प्रधानले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राप्रपाबाटै सहरी विकास मन्त्री भएका विक्रम पाण्डे चितवन–३ बाट प्रत्यक्ष निर्वाचित हुन् । उनले यसअघि वन र भूमिसुधार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । प्रधानमन्त्री दाहालले जनमत पार्टीका अब्दुल खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी पहिलो चरणमै मन्त्री बने पनि जिम्मेवारी पाएका थिएनन् । खान किसान परिवारका हुन् ।

यो पनि...

राप्रपाका मन्त्री कस्ता ?


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।