काठमाडौं । आजको विश्वकप विशेषमा यस्तो टोलीको चर्चा गर्दैछौं, जसले असम्भवलाई सम्भव तुल्याउँदै विश्व मञ्चमा पुनरागमन गरेको छ ।
१२ वर्षको लामो प्रतिक्षापछि 'द ड्रागन्स' उपनामले चिनिने बोस्निया एन्ड हर्जगोभिना फेरि एकपटक विश्वकपको मैदानमा उत्रँदैछ । ऐतिहासिक छनोट यात्रा र एडिन जेकोको सम्भावित अन्तिम विश्वकपका कारण यो टोली यसपटक सबैको नजरमा छ ।
बोस्निया एन्ड हर्जगोभिनाको विश्वकप इतिहासमा सबैभन्दा स्मरणीय क्षण सन् २०१४ को ब्राजिल विश्वकपलाई नै हो भन्दा फरक नपर्ला, जहाँ उनीहरूले इरानलाई ३-१ ले पराजित गर्दै आफ्नो पहिलो र एकमात्र विश्वकपमा जित दर्ता गरेका थिए । उक्त खेलमा कप्तान एडिन जेको, मिरालेम प्यानिच र एभ्डिजा भ्रासाजेभिचले गोल गर्दै देशको नाम स्वर्ण अक्षरले लेखेका थिए ।
यदद्पि, अर्जेन्टिनाविरुद्धको डेब्यू खेलमा व्यहोरेको २-१ को हार र नाइजेरियासँगको १-० को पराजयले उनीहरूलाई समूह चरणबाटै बाहिर पठाएको थियो । तर, भेदाद इबिसेभिचले अर्जेन्टिनाविरुद्ध विश्वकपमा गरेको देशको पहिलो गोल अझै पनि फुटबल प्रेमीहरूका लागि गौरवको विषय हो ।
सन् १९९३ मा युगोस्लाभियाबाट अलग भएर फुटबल संघ स्थापना गरेपछि बोस्नियाका लागि यो दोस्रो विश्वकप सहभागिता हो । २०२६ को विश्वकपका लागि उनीहरूको छनोट यात्रा कुनै फिल्मको कथाभन्दा कम रहेन । युएफा छनोटको समूह चरणमा अस्ट्रियापछि दोस्रो स्थानमा रहँदै टोलीले प्ले-अफको कठिन बाटो तय गरेको थियो ।
प्ले-अफको सेमिफाइनलमा वेल्सविरुद्ध ८५ मिनेटसम्म पछि परेको अवस्थामा एडिन जेकोको हेडर गोलले टोलीलाई जीवनदान दियो र अन्ततः पेनाल्टीमा जित दिलायो । तर, छनोट यात्राको सबैभन्दा अविस्मरणीय क्षण त फाइनलमा भयो, जहाँ जेनिकाको मैदानमा चार पटकको विश्व विजेता इटालीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बोस्नियाले पूरै युरोपलाई आश्चर्य चकित बनायो र विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्यो ।
यो विश्वकप बोस्नियाका स्ट्राइकर र कप्तान एडिन जेकोका लागि 'लास्ट डान्स' अर्थात् अन्तिम प्रतियोगिता हुने निश्चित प्रायः छ । ४० वर्षको उमेरमा पनि मैदानमा नेतृत्व गरिरहेका जेको ७३ गोलसहित टोलीका सर्वाधिक गोलकर्ता हुन् । उनलाई साथ दिन २१ वर्षीय युवा एस्मिर बाज्राक्तारेभिच तयार छन्, जसले इटालीविरुद्धको निर्णायक पेनाल्टी प्रहार गरी देशलाई विश्वकपमा पुर्याएका थिए ।
प्रशिक्षक सर्गेज बारबारेजको ४-४-२ रणनीति र आक्रामक काउन्टर-अट्याक शैलीले टोलीलाई थप बलियो बनाएको छ । समूह 'बी' मा रहेको बोस्नियाले आफ्नो यात्रा जुन १२ मा सह-आयोजक क्यानाडाविरुद्ध टोरन्टोबाट सुरु गर्नेछ ।
त्यसपछि, जुन १८ मा लस एन्जलसमा स्विट्जरल्यान्ड र जुन २४ मा सियाटलमा कतारसँग प्रतिस्पर्धा गर्ने तालिका छ । वर्षौंपछिको यो पुनरागमनले देशमा उत्सवको माहोल सिर्जना गरेको छ । यसपटक 'द ड्रागन्स' को लक्ष्य केवल सहभागिता मात्र नभइ समूह चरण पार गरेर नकआउट चरणमा पुग्दै नयाँ इतिहास रच्नु रहनेछ ।