तरकारीमा समर्थन मूल्य : बिर्तामोडका किसानलाई घाटा भए अनुदान, खेतीमा बढ्यो आकर्षण

जेष्ठ १२, २०८३ |रमा दाहाल
तरकारीमा समर्थन मूल्य : बिर्तामोडका किसानलाई घाटा भए अनुदान, खेतीमा बढ्यो आकर्षण

झापा । मिहिनेत गरेर उब्जाएको तरकारीले उचित मूल्य नपाउँदा धेरै किसान पिरोलिएका छन्। 

अझ कतिपय किसान त उत्पादन लागतसमेत उठाउन नसकेर बजार पुर्‍याउने बेलाको तरकारी बारीमै कुहाउन बाध्य पनि छन्। तर, झापाको बिर्तामोडका किसानलाई भने आफ्ना उत्पादनले बजार नपाउला कि भन्ने चिन्ता छैन । किनकी नगरपालिकाले तरकारीको समर्थन मूल्य तोकेर घाटामा गएका किसानलाई लागत अनुदान उपलब्ध गराउन थालेको छ ।

झापाको बिर्तामोड नगरपालिकाका किसान प्रदीप खनालले गत वर्ष उत्पादन गरेको बोडी, काउलीलगायतका तरकारीले राम्रो मूल्य पाएन । तर, पनि उहाँले नगरपालिकाले खोलेको संकलन केन्द्रमा आफ्नो उत्पादन पुर्‍याइरहनुभयो । तरकारी बिक्रीमा भएको घाटावापत नगरपालिकाले उहाँलाई ५ लाख ३४ हजार रकम उपलब्ध गरायो । 

यसबाट उत्साहित बनेका खनालले अहिले थप जमिन भाडामा लिएर विभिन्न जातका तरकारी उत्पादन गरिरहनु भएको छ । खनालजस्ता २४ जना किसानले गत वर्ष यस्तो लागत अनुदान पाए । यसबाट किसानलाई तरकारी उत्पादनमा लाग्न प्रेरित गरेको छ । 

त्यसैले यस वर्ष अन्य किसानले पनि विभिन्न तरकारी खेती गरिरहेका छन् । तरकारी उत्पादनमा लागेका किसानलाई सघाउन नगरपालिकाले गत वर्ष नीति नै बनाएर विभिन्न २६ जातका तरकारीको समर्थन मूल्य तोकेको छ । किसानले त्यो मूल्यभन्दा कममा तरकारी बिक्री गर्नुपरे पनि घाटामा जानु पर्दैन । 

तोकिएको मूल्य बराबरको अनुदान नगरपालिकाले उपलब्ध गराउँछ । यसका लागि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने चालु आर्थिक वर्षमा यो रकम बढाएर २० लाख पुर्‍याएको छ ।

किसानमुखी नीति र योजना बनाउन तीनै तहका सरकार चुकिरहेका बेला बिर्तामोड नगरपालिकाले निर्धारण गरेको तरकारीको समर्थन मूल्यले यहाँका किसान लाभान्वित हुन थालेका छन् । जसका कारण तरकारी उत्पादनतर्फ किसानको लगाव बढ्नुका साथै तरकारीको आयात प्रतिस्थापनमा पनि टेवा पुगेको छ ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।