मन्त्रालयले दिने सेवा प्रभावकारी बनाउने परराष्ट्रमन्त्रीको प्रतिबद्धता, यी हुन् तीन प्राथमिकता

माघ ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
मन्त्रालयले दिने सेवा प्रभावकारी बनाउने परराष्ट्रमन्त्रीको प्रतिबद्धता, यी हुन् तीन प्राथमिकता

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्‍याउने सेवा र सुविधा सहज बनाउने प्रतिबद्धता जनाएकी छन् ।

परराष्ट्रमन्त्रीको शपथग्रहणपछि मंगलबार मन्त्रालयमा पदभार सम्हाल्दै उनले जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको जनाइन् । यस्तै कूटनीतिक नियोगसँगको सहकार्य र विभिन्न देशमा रहेका नेपाली दूतावासहरुमा नेपालीको सहज पहुँच बनाउने आफ्ना तीन प्राथमिकता रहेको शर्माको भनाइ छ ।

‘जनतामा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । दोस्रो प्राथमिकतामा विदेशी कूटनीतिक नियोगहरुसँगको सहकार्य रहनेछ । नेपालको हितमा सम्झौता नगरीकन आफूले विदेशी कूटनीतिक नियोगहरुसँग समन्वय गर्नेछु । तेस्रो प्राथमिकतामा नेपालका विभिन्न देशमा रहेका राजदूतावासमा नेपालीहरुको सहज पहुँच बनाउनेछु,’ उनले भनिन्, ‘नेपालको दूतावासमा मेरो देशका मान्छे आउँदा घरजस्तो फिल गर्नुपर्छ । बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महसुस गर्नुपर्छ । हाम्रो दूतावावासमा नेपालीलाई सहज पहुँच गराउन प्रयास गर्नेछु ।’

मन्त्री शर्माले नेपालको हितमा सम्झौता नगरीकन आफूले विदेशी कूटनीतिक नियोगसँग समन्वयको तयारी गरेको पनि जनाइन् । उनले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफ्नो प्रयास रहने बताइन् । मन्त्री शर्माले नेपालको दूतावासमा नेपाली जाँदा घरजस्तो फिल गर्नुपर्ने भन्दै नेपालीहरु बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महसुस हुने वातावरण बनाउने प्रतिबद्धता जनाइन् ।

आफूले नीति फेर्ने भन्दा पनि असंलग्न परराष्ट्रनीतिअनुसार अघि बढ्ने उनको प्रतिबद्धता छ । ‘आफू आउनासाथ सबै नीति फेर्नेतिर लाग्दिनँ । नेपालको असंलग्न परराष्ट्रनीति अनुसार अघि बढ्ने हो । मान्छेपिच्छे हाम्रो परराष्ट्र नीति परिवर्तन हुनु हुँदैन,’ उनले भनिन्, ‘यति धेरै विज्ञ यहाँ हुनुहुन्छ । भइरहेका नीतिमा ग्याप छन् भने मिलाउँछौँ । हामी अन्तर्राष्ट्रिय क्षेत्रमा जसरी प्रस्तुत हुन्छौँ हाम्रो इमेज त्यही हो। नेपालको सीमा विवादहरुका विषयमा भने अहिल्यै बोल्नु हतार हुन्छ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.