किन सरकारमा सहभागी भएनन् जसपा र लोसपा ?

माघ ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
किन सरकारमा सहभागी भएनन् जसपा र लोसपा ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन गर्दै विश्वासको मत दिएको जनता समाजवादी पार्टी मागेजति मन्त्रालय नपाएपछि सरकारमा सहभागी भएको छैन ।

गठबन्धन बैठकमा कम्तीमा ३ वटा मन्त्रालय पाउनुपर्ने दाबी जसपाको थियो । तर जसपालाई दुईवटा मन्त्रालयमात्र दिनसकिने गठबन्धनमा निर्णय भएको थियो । जसपाले रोजेअनुसार मन्त्रालयसमेत पाउन नसक्ने अवस्था आएकाले सरकारमा सहभागी नभएको हो । जसपाका नेताहरुले मन्त्रालय बाँडफाँटमा पार्टीले सम्मानजनक अवस्था नपाएकाले आज सरकारमा सहभागी नभएको बताएका छन् ।    

त्यसैगरी सरकारमा सहभागी हुने निर्णय गरेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपालेसमेत मन्त्री पठाएन । लोसपालाई सरकारमा सहभागी गराउने आश्वासन प्रधाननमन्त्री दाहालले दिए पनि मन्त्रिपरिषद् विस्तारका क्रममा कुनै छलफल नभएको नेता केशव झाले बताए ।

उता नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायतको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, टीकापुर घटनामा लगाइएका मुद्दा फिर्ता गर्नुपर्नेलगायतका माग पूरा गर्न प्रधानमन्त्रीले आश्वासन दिएको र त्यो पूरा भएपछि मात्र सरकारमा जाने उन्मुक्ति पार्टीको अडान छ । 

नागरिक उन्मुक्ति पार्टीलाई दिने भनिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय माओवादी केन्द्रले आफैसँग राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.