यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री

माघ ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री

काठमाडौं । नेकपा एमालेलगायतको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहालले आज (मंगलबार) दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

सत्ता साझेदार दलहरुबीच भएको भागबन्डाअनुसार प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गरेका हुन् । दाहालले मंगलबार थप १५ मन्त्री नियुक्त गरे । अर्थात् अब दाहाल नेतृत्वको सरकार २३ सदस्यीय बनेको छ ।

दाहाल नेतृत्वको सरकारको समर्थक राष्ट्रिय स्वतन्त्र पार्टीबाट चारजना मन्त्री बनेका छन् । रास्वपाबाट उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने यसअघि नै नियुक्त भइसकेका थिए । रास्वापाबाट मन्त्री बन्नेहरुको सूची यस्तो छ । हेरौं रास्वापाका तर्फबाट मन्त्री बन्नेहरुको सूची :

राष्ट्रिय स्वतन्त्र पार्टी

१. रवि लामिछाने : उपप्रधानमन्त्री एवं गृहमन्त्री

२. शिशिर खनाल : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

३. डोलप्रसाद अर्याल : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

४. डा. तोसिमा कार्की : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

०००

१. रवि लामिछाने : उपप्रधानमन्त्री एवं गृहमन्त्री

टेलिभिजन प्रस्तोताका रुपमा ख्याति कमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्षसमेत रहेका रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पुस ११ गते नै नियुक्त भइसकेका छन् । पहिलोपटक संसदीय चुनावमा सहभागी बनेको रास्वपाले समानुपातिक र प्रत्यक्षतर्फ गरी प्रतिनिधिसभामा २० सिट जित्न सफल भएको छ । लामिछानेको नेतृत्वको रास्वपामा अधिकांश सांसद युवा छन् । नागरिकताको विषयमा विवादित बनेका लामिछाने पत्रकारिता होस् चाहे व्यक्तिगत जीवन होस् विवादको घेरामा छाइरहने व्यक्ति हुन् ।

उनी गृहमन्त्री बनेसँगै समर्थन र विरोध गर्नेहरु उत्तिकै बढिरहेका छन् । ४७ वर्षीय लामिछाने राजनीतिमा आउनुअघि टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत थिए । रास्वपाबाट मन्त्री बन्ने सबै नयाँ अनुहार हुन् । उनीहरु पहिलोपटक संसद्‌मा पुगेसँगै मन्त्री बन्ने अवसर पनि पहिलोपटक नै पाएका हुन् । लामिछाने चितवन निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

२. शिशिर खनाल : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

टिच फर नेपालका संस्थापक तथा शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्न सफल भएका छन् । उनी शिक्षामन्त्री भएकामा ठीक मानिस आएको भन्दै सामाजिक सन्जालमा प्रशंसाहरु भइरहेका छन् । खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा चुनिएका हुन् । ४३ वर्षीय खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् ।

३. डोलप्रसाद अर्याल : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । पार्टीको उपसभापतिसमेत रहेका अर्याल रेमिट्यान्स व्यवसायी पनि हुन् । धादिङका अर्यालले केही समय जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा पनि काम गरेका थिए ।

४. डा. तोसिमा कार्की : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

चिकित्सकसमेत रहेकी डा. तोसिमा कार्कीलाई रास्वपाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएको छ । कार्की ललितपुरको क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । 

चिनौं एमालेका मन्त्री !
चिनौं दाहाल नेतृत्वको मन्त्रीमण्डलमा सहभागी माओवादीका मन्त्री !
मन्त्रालयले दिने सेवा प्रभावकारी बनाउने परराष्ट्रमन्त्रीको प्रतिबद्धता, यी हुन् तीन प्राथमिकता
माओवादीबाट अमनलाल मोदी सामान्य प्रशासनमन्त्री, राज्यमन्त्रीमा सुशीला श्रीपाली
मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ
यस्तो बन्यो दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)
किन सरकारमा सहभागी भएनन् जसपा र लोसपा ?
राजनैतिक खेलका चतुर खेलाडी : पुष्पकमल दाहाल (भिडियो रिपोर्ट)
दौरासुरुवाल लगाएर पुष्पकमल दाहालले लिए प्रधानमन्त्रीको शपथ
मन्त्री ज्वालाकुमारी साहले पदभार सम्हालेसँगै गरिन् २ निर्णय


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.