राजनैतिक खेलका चतुर खेलाडी : पुष्पकमल दाहाल (भिडियो रिपोर्ट)

पुस १०, २०७९ |प्रकाश बम
राजनैतिक खेलका चतुर खेलाडी : पुष्पकमल दाहाल (भिडियो रिपोर्ट)

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएका भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार दाहाल प्रधानमन्त्री नियुक्त भएका हुन । तेस्रोपटक प्रधानमन्त्री बनेका दाहाललाई सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन छ । दाहाललाई प्रधानमन्त्रीमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् ।

यस्तै तीन स्वतन्त्र सांसदको समेत दाहाललाई समर्थन छ । दाहालको पक्षमा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको समर्थन छ । स्वतन्त्र तीनमा प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि दाहाललाई समर्थन गरेका हुन् ।

अन्तिम समयसम्म अहिलेकै सत्तागठबन्धन जोगाउन भन्दै बालुवाटारमा छलफलमा रहेका दाहाल कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैको अडान नछाडेको भन्दै एमालेसँगको नयाँ गठबन्धन बनेको थियो । दाहाललाई समर्थन गरेका सबै दलका नेताहरु उनीसँगै शीतलनिवास पुगेका थिए । विवादका कारण नेकपा विभाजन भएपछि पहिलोपटक दाहाल ओली निवास पुगेका हुन् ।

सरकार र पार्टी चलाउने विषयमा भएको विवादका कारण दल नै विभाजनसम्म पुगेका यी दुई नेता पुनः सरकारको सहकार्यकै लागि एकै ठाउँमा उभिएका हुन् । बालुवाटारबाट बिदा भएर बालकोटको बार्दलीबाट कार्यकर्तालाई सम्बोधन गरेका ओलीले बार्दलीबाटै हात हल्लाउँदै दाहाललाई प्रधानमन्त्री बनाउन सहमति जनाएको सन्देश बाहिर दिएका छन् ।

राष्ट्रपति एमालेले लिने र सभामुख पनि आलोपालो गर्ने सहमति भए पनि अरु पदबारे अहिलेसम्म टुंगो भइसकेको छैन ।

सधैंजसो सत्ता राजनीतिको केन्द्रमा रहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ४५औं प्रधानमन्त्रीका रुपमा तेस्रोपटक सत्ताको बागडोर सम्हाल्न पुगेका छन् । भूमिगत जीवन र १० वर्षे सशस्त्र युद्ध हुँदै २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका दाहाल दोस्रोपटक २०७३ सालमा प्रधानमन्त्री बनेका थिए ।

पुष्पकमल दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि

नेपाली राजनीतिका चतुर खेलाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी छन् । कहिले एमाले त कहिले कांग्रेससँग गठबन्धन गरेर सरकारमा जाने गरेका दाहालको पार्टीले अहिलेसम्म सातौं पटक गठबन्धन सरकारमा सहभागिता जनाइसकेको छ । दाहाल अहिले कांग्रेससँगको सहकार्य बीचैमा छाडेर एमालेसहितको गठबन्धनबाट तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

१० वर्षे सशस्त्र युद्ध हुँदै शान्तिपूर्ण राजनीतिमा आएका दाहाल पहिलो संविधानसभा निर्वाचनपछि २०६५ भदौमा प्रधानमन्त्री बने । नौ महिनापछि तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गर्न खोज्दा विवादमा आएपछि राजीनामा दिन बाध्य भए ।

पछिल्लो डेढ दशकदेखि नेपाली राजनीतिमा दाहाल जति चर्चित खेलाडी मानिन्छन्, उति नै अस्थिर नेताका रुपमा समेत चिनिन्छन् । उनी सत्ता प्राप्तिका लागि जस्तोसुकै कठिन निर्णय लिन पछि पर्दैनन् । दाहाल यो वा त्यो धारमा 'युटर्न' गर्न नहिच्किचाउने नेताका रुपमा चिनिन्छन् । यथास्थितिबाट तुरुन्तै अर्को धारमा हाम्फाल्ने उनको आदत नै बनिसकेको छ ।

दाहाल २०७३ साल साउनमा एमालेसँग सहकार्य तोडेर कांग्रेसको सहयोगमा दोस्रोपटक प्रधानमन्त्री बने । त्यसको ६ वर्षपछि कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपा, राप्रपा, जनमत पार्टी र केही स्वतन्त्रको समेत सहयोगमा तेस्रोपटक दाहाल सत्तामा पुगेका छन् ।

२०११ सालमा कास्कीको ढिकुरपोखरीमा जन्मिएका दाहालको राजनीतिक यात्रा शिक्षक पेसा छाडेर अघि बढेको हो । २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०४६ सालमा मोहन वैद्य कारवाहीमा परेपछि पार्टीको महामन्त्री बने । त्यसयता ३२ वर्षदेखि निरन्तर पार्टीको नेतृत्वमा छन् ।

युद्धको प्रभाव र संसदको ठूलो दलको नेताको हैसियतमा पहिलो पटक उनलाई जुन लाभ र सुविधा थियो, यसपटक भने उनका सामु थुप्रै चुनौती छन् । गठबन्धनको नेतृत्व गर्नु र सत्ता साझेदार दललाई विश्वासमा राखेर आम जनचाहनालाई सम्वोधन गर्ने गरी काम गर्नु उनको पहिलो चुनौती हो । दाहालले नेतृत्व गरेको सशस्त्र संघर्षमा कैयौं निर्दोष नागरिक मारिएको, बेपत्ता भएको र विस्थापित भएको विषयमा सत्य निरुपण र शान्तिप्रक्रियाका काम पनि बाँकी नै छन् ।

मौलाउँदो भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्नु अर्को ठूलो चुनौती छ । सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनु छ । मुलुकलाई आयातमुखी अर्थतन्त्रबाट बाहिर निकालेर उत्पादन र रोजगारी वृद्धि गर्नुछ । २०६४ यता उनको पार्टी निरन्तर ओरालो यात्रामा छ । उनीसँग जम्मा प्रतिनिधिसभाका ३२ सिट मात्रै छ । उनलाई ७८ सिट भएको एमाले, २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिट रहेको राप्रपा १२ सिटको जसपा र ६ सिट रहेको जनमत पार्टी, ४ सिटको नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसदको साथ छ । त यी सबै दलको विश्वास जितेर अढाइ वर्ष देशको नेतृत्व सम्हाल्न दाहाललाई सजिलो छैन ।

सम्बन्धित समाचार

‘हामी यहाँ छौं’ को २ वर्ष : त्यही बार्दलीबाट दाहाल प्रधानमन्त्री

फायर साइडमा पुष्पकमल दाहाल : ‘कम्फर्टेबल’ बहुमत आउँछ, प्रधानमन्त्री बन्छु

गोरखा २ बाट पुष्पकमल दाहाल विजयी

गोरखा जानुको अर्थ चितवन छाड्यो भन्ने होइन : अध्यक्ष दाहाल

ओलीलाई अफरैअफर : मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।