गुठी जग्गा फिर्ता विवाद चर्किँदा मोही किसान मारमा

जेष्ठ १२, २०८३ |नारायण किलम्बू
गुठी जग्गा फिर्ता विवाद चर्किँदा मोही किसान मारमा

काठमाडौं । गुठी संस्थानले जग्गा एकीकरण आयोजनाका क्रममा गुठीका जग्गा कट्टा गर्न नपाउने कानुनी व्यवस्था गरेपछि संस्थान र आयोजनाहरुबीच विवाद उत्पन्न भएको छ । 

एकीकरण प्रक्रियामा योगदानवापत् कट्टा हुने कुल गुठी जग्गाको कम्तीमा ६६ प्रतिशत घडेरीकै रुपमा छुट्टै कित्ता कायम गर्नुपर्ने व्यवस्था संस्थानले गरेपछि विवाद भएको हो । आयोजनाहरु भने त्यसरी फिर्ता दिन तयार छैनन् । जसको मारमा परेका छन् मोही किसान ।

भक्तपुर नगरपालिकाले १६ सय ५४ रोपनी क्षेत्रफलमा देको मिवा इतापाके जग्गा एकीकरण आयोजना सञ्चालन गरेको १३ वर्षभन्दा बढी भयो । त्यसमध्ये ७० रोपनी अधिनस्थ गुठी जग्गा छन् । आयोजनाले झन्डै ५२ प्रतिशत किसानलाई जग्गा फिर्ता गरिसकेको छ । तर, गुठी संस्थानले गत फागुन १२ गते नयाँ व्यवस्था गरेपछि त्यस्ता जग्गा फिर्तामा झन् समस्या देखा परिरहेको छ । 

संस्थानले मोही लागेको गुठी जग्गाको हकमा योगदानवापत कट्टा हुने कूल जग्गाको कम्तिमा ६६ प्रतिशत विकसित घडेरीको रुपमा छुट्टै कित्ता कायम गरी गुठी तैनाथीमा दर्ता गर्नुपर्ने व्यवस्था गरेपछि जग्गा एकीकरण आयोजना र गुठी संस्थानवीच विवाद बढेको हो ।

भक्तपुरका टुमुचो दुगुरे, लिवालीसहित पाँचवटा जग्गा एकीकरण आयोजनामा ३० प्रतिशत गुठी जग्गा परेका छन् । यसका साथै काठमाडौंको टोखा, सिन्धुलीको खुर्कोट र तनहुँको व्यास नगरपालिकामा क्षेत्रमा गरिएको जग्गा एकीकरण आयोजनामा समेत सयौं रोपनी गुठी जग्गा परेका छन् । 

जग्गा एकीकरण आयोजनाका कारण गुठी जग्गाहरू हराउँदै गएपछि गत फागुनमा नयाँ व्यवस्था गरेको संस्थानले जनाएको छ । यसअघि योगदान बापत कट्टा गरेको जग्गाको मुआब्जा बापत रकम दिनुपर्ने व्यवस्था थियो । तर, अहिले जग्गा आयोजनाका क्रममा गुठी जग्गा जति कट्टा गरिएको हो त्यसको ६६ प्रतिशत जग्गा नै फिर्ता दिनुपर्ने व्यवस्थाले विवाद बढेको हो ।

जग्गा आयोजना र गुठी संस्थानबीचको विवादले मोही लागेका गुठी जग्गाका किसानहरु थप मारमा परेका छन् । पुर्जा पाउन नसक्दा घर निर्माणदेखि धितो राखेर गर्जो टार्नसमेत नपाएको गुनासो उनीहरुको छ । यो समस्या तत्काल समाधान गर्न किसानहरुले माग गरेका छन् ।

गुठी संस्थान कार्यालयका अनुसार देशभर १४ लाख ५० हजार रोपनी गुठी जग्गा छन् । त्यसमध्ये ३ लाख ७७ हजार ६ सय ७२ रोपनी रैतानी नम्बरी जग्गा र २ लाख ४५ हजार ७ सय रोपनी जग्गा अधिनस्थ गुठी छ्न् । अधिनस्थ गुठी जग्गा भन्नाले तिनमा मोही लागेको जग्गा भन्ने बुझिन्छ । 

मठ मन्दिर जात्रा पर्व पोखरी लगायतसँग तैनाथी जग्गा ६ लाख २७ हजार विघा रहेका छन् । तर, यीमध्ये अधिकांश जग्गा अतिक्रमणमा परेका छन् । परम्परागत धर्म संस्कृति र जात्रा पर्वलाई जीवन्तता दिन गुठी जग्गा नष्ट गर्न नहुने र संरक्षण गर्नुपर्ने भएकाले नयाँ व्यवस्था गरिएको संस्थानका अधिकारीहरु बताउँछन् ।

संस्थानका अनुसार २०६४ मा मोही लागेको ३ लाख ७७ हजार ६ सय ७२ रोपनी गुठी जग्गा किसानका नाममा नामसारी गरिएको थियो । जात्रा पर्वसँग सम्वन्धित गुठी जग्गाहरु हराउँदै जाँदा संरक्षणका लागि नयाँ व्यवस्था गरिएको संस्थानको दाबी छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।