‘नेदरल्यान्डस्‌सँगको खेलका लागि नेपाल सबै हिसाबले तयार छ’

जेष्ठ २२, २०८१ |सविना कार्की
‘नेदरल्यान्डस्‌सँगको खेलका लागि नेपाल सबै हिसाबले तयार छ’

डालस । ‘‘विश्वकपको पहिलो खेल सुरु भएदेखि अर्कै किसिमको महसुस भइरहेको छ, ‘गुजबम्प्स्’ आइरहेको छ । अलिअलि नर्भसनेस पनि छ । बाल्यकालमा देखेको सपना पूरा हुँदै छ, हामी सबैको सपना सकार हुँदै छ, सबै उत्साहित छौँ ।’’ राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेदरल्यान्डस्‌विरुद्धको खेल अघि दिएको प्रतिक्रिया हो यो ।

नेपालले आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा आज एसोसिएट प्रतिद्वन्द्वी नेदरल्यान्डस्‌सँग प्रतिस्पर्धा गर्दै छ । सन् २०१४ मा नेपालले टी-ट्वेन्टी विश्वकपमा डेब्यु गर्दा रोहित क्रिकेटमा बामे सर्दै थिए । टेलिभिजनको पर्दामा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषावकर र शक्ति गौचनलाई विश्वकप खेलेको हेर्दा रोहितले सोचे– ‘म पनि यसरी नै खेल्न पाए !’ त्यहीँबाट सुरु भएको रोहितको सपना मंगलबार अमेरिकाको टेक्सस, डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा पूरा हुँदै छ । 

एक समय टिमभन्दा बाहिर रहेका रोहितको करियरले विभिन्न उतारचढावको सामना गर्‍यो तर रत्तीभर पनि हिम्मत नहारेका उनै रोहित १० वर्षपछि विश्वकप खेल्ने नेपाली टोलीको कप्तान छन् । रोहितको टिममा रहेका प्राय सबै खेलाडी त्यही विश्वकपबाट प्रेरित पुस्ता हो । रोहित सम्मिलित यो टिम पनि आउने पुस्ताका लागि प्रेरणा बन्न तयार छ । 

रोहित सम्मिलित यो टिम पनि आउने पुस्ताका लागि प्रेरणा बन्न तयार छ । फेरि एक पटक स्तरीय क्रिकेट खेल्दै नेपाल जुनसुकै राष्ट्रमाथि पनि हाबी बन्न सक्छ भन्ने प्रमाणित गर्न चाहन्छ ।

नेपालले पहिलोबाट दोस्रो विश्वकप खेल्न निकै लामो समय पर्खनु पर्‍यो । १० वर्षपछि नेपाली क्रिकेट अर्को कोशेढुंगा पार गर्दै छ । घरेलु मैदानमा भएको एसिया छनौटमा युएईलाई पराजित गरेर विश्वकपका लागि छनौट भएको नेपाल मात्र सहभागिता लागि आएको होइन । एसोसिएट राष्ट्रमा ‘नम्बर वान’ बन्ने लक्ष्यमा रहेको नेपाल विश्वलाई आफ्नो क्षमता देखाउन चाहन्छ । पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलेर विश्वको ध्यान तान्न सफल भएको मोन्टी देसाईको टोली फेरि एक पटक स्तरीय क्रिकेट खेल्दै नेपाल जुनसुकै राष्ट्रमाथि पनि हाबी बन्न सक्छ भन्ने प्रमाणित गर्न चाहन्छ ।

प्रि-म्याच कन्फरेन्समा रोहितले १० वर्षपछिको विश्वकप नेपाल र नेपाली क्रिकेटको लागि महत्त्वपूर्ण रहेको बताए । नेपाली समर्थकको आशालाई राम्रो प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्ने समय आएको उनको भनाइ थियो । नेपाली टिम अमेरिकाको टाइम जोन र वातावरणसँग घुलमिल हुन विश्वकप सुरु हुनुभन्दा झन्डै एक महिना अघि नै अमेरिका आएको थियो । फ्लोरिडा, वेस्ट वेन्डिज हुँदै डालस आएको नेपाल सबै हिसाबले नेदरल्यान्डस्‌सँगको खेलका लागि तयार छ । ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेपालले यसअघि क्यानडासँग वार्म अप म्याच खेलेको थियो । अमेरिकासँगको खेल भने वर्षाका कारण हुन सकेन । नेदरल्यान्डस्‌ले यो पिचमा खेलेको छैन ।

कप्तान रोहितले निरन्तर विश्वकप खेलिरहेको नेदरल्यान्डस्‌ सन्तुलित रहेको बताए । कुनै पनि प्रतियोगिताको पहिलो खेल महत्त्वपूर्ण हुने उनको भनाइ छ । पहिलो खेलको जितले टिममा मोमेन्टम् आउने र त्यसले शङ्काहरू हट्ने हुँदा नेदरल्यान्डस्‌सँग जित आवश्यक रहेको रोहितले बताए ।

नेदरल्यान्डस्‌विरुद्ध मैदान उत्रँदा नेपाललाई समर्थकको अभाव हुने छैन । ग्रान्ड प्रेरी स्टेडियमको ८० प्रतिशतभन्दा बढी सिट नेपाली समर्थकले भरिनेछ ।

नेदरल्यान्डस् र नेपाल परिचित प्रतिद्वन्द्वी हुन् । यी दुई टिम २०२४ मा टी- ट्वेन्टी आईमा चौथो पटक आमनेसामने हुँदै छन् । गत फ्रेब्रुअरी/मार्चमा त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी- ट्वेन्टी आई सिरिजमा भएका तीन खेलमध्ये एकमा नेपाल र दुई खेलमा नेदरल्यान्डस् विजयी भएको थियो । नेदरल्यान्डस्‌का प्रशिक्षक रायन कुकले सो सिरिज खेलेको टिमबाट केही खेलाडी परिवर्तन भएको बताए । उनले पछिल्लो समय नेपालले उत्कृष्ट खेलिरहेको पनि उल्लेख गरे । नेपालको टिममा धेरै अलराउन्डर रहेको बताउँदै उनले बलिङको विकल्प पनि धेरै रहेको बताए । नेपालसँगको सहित विश्वकपका हरेक खेल कठिन हुने रायन कुकको बुझाइ छ ।

नेदरल्यान्डस्‌विरुद्ध मैदान उत्रँदा नेपाललाई १२औँ खेलाडी अर्थात् समर्थकको अभाव हुने छैन । ग्रान्ड प्रेरी स्टेडियमको ८० प्रतिशतभन्दा बढी सिट नेपाली समर्थकले भरिनेछ । कप्तान रोहितले अमेरिका आएदेखि नै समर्थकको साथ र माया पाएको बताउँदै टीयूमा खेलेजस्तै हुने प्रतिक्रिया दिए । डच प्रशिक्षक रायनले नेपालमा ठूलो क्राउडमा खेलेको अनुभव रहेको सुनाए । सानो सङ्ख्यामा भए पनि डच समर्थक स्टेडियम आउने अपेक्षा उनको छ ।

नेपाल रहेको समूह-डी मा बलिया टोली दक्षिण अफ्रिका, बंगलादेश र श्रीलङका पनि छन् । यो समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङकामाथि ७ विकेटको जित हात पारेको छ । न्युयोर्कमा सोमबार भएको खेलमा श्रीलङका ७७ रनमा नै अल आउट भएको थियो । सुपर-ए प्रवेशको सम्भावना बलियो बनाइराख्न पहिलो खेलमा जित आवश्यक छ । पछिल्ला खेलमा नेपालले क्षमता अनुसारको ब्याटिङ चल्न सकेको छैन । नेदरल्यान्डस्‌विरुद्ध ओपनिङ जोडीले राम्रो सुरुवात दिलाउन आवश्यक छ । यस्तै स्टार सदस्य दीपेन्द्र सिंह ऐरी पनि टिममा फर्कनेछन् । चोटका कारण उनले वेस्ट इन्डिज र ह्युस्टनमा भएका तीन अभ्यास खेल र क्यानडा सँगको वार्मअप म्याच गुमाएका थिए ।

टेक्ससमा विश्वकप सुरुवात भएसँगै मौसममा पनि परिवर्तन भइरहेको छ तर मंगलबार नेपालको म्याच रहेको समयमा भने पानी पर्ने देखिएको छैन । बिहान सात बजे पानी पर्ने सम्भावना करिब तीन प्रतिशत छ । नेपालको खेल स्थानीय समय अनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपालको समय अनुसार आज राति सवा ९ बजे खेल सुरु हुनेछ ।

सम्बन्धित समाचार...

नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्यो : रोहित पौडेल

गुल्सन झा : नेपाली क्रिकेट टिमका जोशिला खेलाडी

नेपाली क्रिकेटका सफल ओपनर कुशल भुर्तेल : सानदार प्रदर्शनको अपेक्षा

विश्वकपमा सोमपालको प्रदर्शन कस्तो रहला ?

संघर्षले खारिएका अनिल साह : विश्वकपमा अब्बल साबित गर्ने अवसर

कठिन अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै आएका करणले विश्वकपमा कस्तो चमत्कार देखाउलान् ?

अविनाश बोहोराको बलिङ जादु, पूरा होला विश्वकपमा सुपर एटसम्म पुग्ने नेपालको लक्ष्य ?

आसिफ सेख : विश्वकपमा उत्कृष्ट प्रदर्शनको जिम्मेवारी

प्रतिश जीसी : ट्यालेन्ट हन्टबाट विश्वकप यात्रासम्म

ललित राजवंशी : लेफ्ट आर्म स्पिनको जादु देखाउन तयार

चोटले क्रिकेट करियरमा अवरोध गरे पनि सिनियर टिममा स्थान बनाउन सफल कमलसिंह ऐरी


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement