
काठमाडौं । जापानमा जारी एसियन गेम्समा ११ वर्ष ३ महिनाका जापानी ई-स्पोर्ट्स खेलाडी युकी कुरिहाराले स्वर्ण पदक जितेर इतिहास रचेका छन् ।
पुयो पुयो च्याम्पियन्स खेलको फाइनलमा आफूभन्दा दोब्बर उमेरका प्रतिस्पर्धीलाई पराजित गर्दै उनले एसियाडको इतिहासमै सबैभन्दा कान्छा स्वर्ण पदक विजेता बन्ने कीर्तिमान बनाएका हुन् ।
११ वर्षको उमेरमा तपाईँको दैनिकी कस्तो थियो ? पक्कै पनि स्कुल जाने, साथीभाइसँग खेल्ने, अनि बाआमाको काखमा लुटुपुटु पर्ने । तर, जापानका युकी कुरिहाराले ११ वर्षको उमेरमै एसियाली खेलकुदमा स्वर्ण पदक जितेका छन् । र, यो जित केवल पदकको मात्र रहेन, इतिहास नै बनेको छ ।
जापानमा जारी एसियन गेम्समा ११ वर्ष ३ महिनाका जापानी ई-स्पोर्ट्स खेलाडी युकी कुरिहाराले स्वर्ण पदक जितेर इतिहास रचेका छन् । पुयो पुयो च्याम्पियन्स खेलको फाइनलमा आफूभन्दा दोब्बर उमेरका प्रतिस्पर्धीलाई पराजित गर्दै उनले एसियाडको इतिहासमै सबैभन्दा कान्छा स्वर्ण पदक विजेता बन्ने कीर्तिमान बनाएका हुन् ।
युकी कुरिहारा यो प्रतियोगिताको सबैभन्दा कान्छा खेलाडीका रूपमा आएका थिए । डिजिटल पजल गेम 'पुयो पुयो च्याम्पियन्स' को फाइनल भिडन्तमा उनले दक्षिण कोरियाका २४ वर्षीय खेलाडी काङ डोङसिनलाई १०-२ को अन्तरले पराजित गर्दै स्वर्ण पदक आफ्नो नाममा गरे । सुरुमा १-० ले पछि परे पनि कुरिहाराले पुनरागमन गर्दै खेल जितेका थिए ।
सेमिफाइनलमा उनले थाइल्यान्डका २८ वर्षीय तानाराक वोङकिटकुनलाई १०-१ को फराकिलो अन्तरले पछाडि पारेका थिए । त्यस्तै समूह चरणका चारै खेल जितेका कुरिहाराले हङकङका २८ वर्षीय यु विङ लिमलाई पनि ३-० ले हराएका थिए ।
उनी जापानको इतिहासमै एसियाडमा भाग लिने र पदक जित्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन् । कुरिहाराले गत अप्रिलमा १० वर्षको उमेरमै खेल्न पाउने लाइसेन्स प्राप्त गरी टोकियो भर्डी ई-स्पोर्ट्स टिममा आबद्ध भएका थिए । उनी प्रतियोगिताअघि आफ्नो ऊर्जाका लागि माछा खाने गरेको बताउँछन् । साथै स्कुल, ट्युसन जाने अनि फुटबल खेल्ने उनको दैनिकी हो ।