
बागलुङ । असोज १० गते राति कालिगण्डकी नदीमा ठूलो बाढी आयो ।
मुस्ताङबाट बग्दै आउने कालीगण्डकीको बाढीले पर्वतको जलजला–८ फर्सेमा ६६ वटा घर बगायो । ठूलो बाढीको कारण फर्सेका दुईसय २० घर परिवारले राति भागेर ज्यान जोगाएका छन् ।
लगातार तीन दिनसम्म पानी परेपछि कालीगण्डकी उर्लियो । उर्लिएको बाढीले पर्वत जलजला ८ फर्सेको पुरानो बजारसहितकोे बस्ती बगायो । रातको समयमा आएको बाढीले आफ्नो घर, सम्पत्ति जग्गा जमिन सबै बगाउँदा यहाँका नागरिकले भने भागेर ज्यान जोगाएका छन् ।
बाढीको कारण त्यस क्षेत्रका ६६ घर बगाएको, २४ घर पूर्णरुपमा क्षति पुर्याएको र विद्यालयसहित झन्डै एकसय जति घर थप जोखिममा परेका छन् । पितापुर्खादेखि बस्दै आएको बस्ती कल्पना नै नगरेको बाढीले छिनभरमा नै बगर बनाएपछि पीडितहरु आफ्नो भविष्य सम्झेर चिन्तित छन् ।
बाढी आउने संकेत पाएपछि पशुचौपाया र मानिस जोगिए पनि अन्य सम्पत्ति भने कालीगण्डकी नदीले बगाएको छ । खेतीयोग्य जमिन समेत किसानले गुमाएका छन् । पीडितहरूलाई स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालको लागि केही राहत वितरण गरेका छन् ।
फर्सेको बस्ती कालीगण्डकी किनारबाट एकसय मिटरभन्दा टाढा छ । तर, बस्तीलाई पुरानै अवस्थामा फर्कन नसक्ने गरी बाढीले सोहरेर लगेको छ । यस क्षेत्रमा अहिले सडक, बत्ति, खानेपानी सञ्चारसमेत अवरुद्ध छ ।