आईसीसीको पूर्ण मान्यता कुर्दै एनपीएलका फ्रेन्चाइज टोली

आश्विन १३, २०८३ |सुवास रोकाया
आईसीसीको पूर्ण मान्यता कुर्दै एनपीएलका फ्रेन्चाइज टोली

काठमाडौं । नेपाल प्रिमियर लिग- एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्- आईसीसीले पूर्ण मान्यता दिने लगभग निश्चित छ । 

त्यसकारण विदेशी स्टार खेलाडीको उपस्थिति यसपटक पनि आकर्षणको केन्द्र बन्ने देखिएको छ । तर, नेपाल क्रिकेट संघ- क्यानले यसबारे अझै स्पष्ट नपार्दा फ्रेन्चाइज टोली आधिकारिक सूचना कुरेर बसेका छन् ।

सुरुवाती दुई सिजनका एनपीएललाई आईसीसीले पूर्ण मान्यता नदिँदा ८ मध्य ४ फ्रेन्चाइज टोलीले मात्र फुल मेम्बर टोलीका सक्रिय खेलाडी भित्र्याउन पाउने व्यवस्था थियो । जसका लागि आईसीसीको थप स्वीकृति पनि आवश्यक थियो भने क्यानले कोटा प्रणाली अपनाउनु परेको थियो । तर, यसपटक आईसीसीले एनपीएललाई पूर्ण मान्यता दिने संकेत गरेको छ । 

त्यसैले अहिले फ्रेन्चाइज टोलीको नजर खेलाडी अनुबन्धसँगै आईसीसीको स्वीकृतिमा छ । स्वीकृति मिले एनपीएलको अन्तर्राष्ट्रिय विश्वसनीयता, विदेशी खेलाडीको सहभागिता र व्यावसायिक अवसरसमेत विस्तार हुने अपेक्षा टिमहरुको छ । 

त्यसै कारण फ्रेन्चाइ टोलीहरु ठूला विदेशी खेलाडी हस्ताक्षर गर्न क्यानको आधिकारिक सूचना कुरिरहेका छन् ।

एनपीएलका फ्रेन्चाइज टोलीले यसअघि नै विदेशी खेलाडी अनुबन्धको प्रक्रिया थालिसकेका छन् । काठमाडौं गोर्खाजले अस्ट्रेलियन स्टार डेविड वार्नर भित्र्याएर सनसनी मच्चाइसकेको छ । जिमी निसम र इफ्तिकार अहमदलाई जनकपुर बोल्ट्सले टिममा सामेल गर्दा चरिथ असालङ्कालाई विराटनगरले भित्र्याइसकेको छ । 

निरोशन डिकवेला लुम्बिनी लायन्समा सामेल भइसकेका छन् । यसबाहेक अन्य थुप्रै विदेशी खेलाडीले एनपीएल खेल्ने निश्चित भइसकेको छ । यसैबीच दक्षिण अफ्रिकाका हेनरी क्लासन र क्विन्टन डी ककको नाम चर्चामा रहँदा फाफ डू प्लेसी फेरि एनपीएल खेल्न आउने तयारीमा रहेको बहस चलिरहेको छ ।

आईसीसीको पूर्ण मान्यता पाए विदेशी स्टार खेलाडीलाई एनपीएलमा ल्याउन सहज हुने छ भने प्रतियोगितामा गरेको प्रदर्शन आधिकारिक टी-२० रेकर्डमा सामेल हुने छ । साथै विदेशी खेलाडी हस्ताक्षेरमा कुनै समस्या नहुने हुँदा एनपीएलको गुणस्तर र विश्वसनियता बढ्ने छ । 


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।