
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको भविष्यमाथि अन्योलता बढेको छ ।
प्रिमियर लिगले एक स्वतन्त्र समितिलाई अध्ययन गर्न दिएको एक सय १५ घटनामध्ये एक सय १४ आर्थिक कारोबारमा सिटीले नियम उल्लंघन गरेको रिपोर्ट सार्वजनिक भएको छ । स्वतन्त्र आयोगले अधिकांश आरोपमा सिटीलाई दोषी ठहर गरेको बताइए पनि यो प्रक्रियाको अन्तिम चरण भने अझै पूरा भएको छैन ।
यसले गर्दा अब सिटीलाई भविष्यमा जस्तोसुकै सजाय हुनसक्ने सम्भावना बढेको हो । प्रिमियर लिगले सन् २०२३ को फेब्रुअरीमा चार वर्ष लामो अनुसन्धानपछि सिटीविरुद्ध १ सय १५ आरोप लगाउँदै छानबिनका लागि स्वतन्त्र आयोगमा पठाएको थियो ।
आरोप सन् २००९ देखि २०१८ सम्मको अवधिमा गरिएका कारोबारसँग सम्बन्धित छन् । त्यसको औपचारिक सुनुवाइ सन् २०२४ को सेप्टेम्बरमा सुरु भएर त्यही वर्षको डिसेम्बरमा सकिएको थियो । अहिले करिब दुई वर्षपछि आयोगको निर्णय सार्वजिनक हुँदा सिटीले नियम उल्लंघन गरेको उल्लेख छ । र, यो निर्णयले विश्व फुटबल जगतलाई एकपटक फेरि झस्काएको छ।
सिटीमाथिका लगाइएका एक सय १४ आरोपमा सन् २००९/१० देखि २०१७/१८ सम्म वित्तीय विवरणमा पारदर्शी नभएका ५४ वटा मुद्दा छन् । खेलाडी तथा प्रशिक्षकलाई गरिएको भुक्तानीको सही विवरण नदिएको आरोल लगाइएका १४ मुद्दा रहेका छन् ।
यसैगरी युरोपेली फुटबल महासंघ यूईएफएको फाइनान्सियल फेयर प्ले नियम पालना नगरेको पाँच मुद्दा रहेका छन् । त्यस्तै प्रिमियर लिगको प्रोफिट एन्ड सस्टेनेबिलिटी नियम अर्थात् नाफा हुनै पर्ने नियम उल्लंघन गरेको ७ र सन् २०१८ को डिसेम्बरदेखि २०२३ को फेब्रुअरीसम्मको अनुसन्धानमा सहयोग नगरेका ३५ आरोप छन् ।
यी आरोपका पृष्ठभूमि के हुन् त ?
म्यानचेस्टर सिटीमाथि अनुसन्धानको सुरुआत सन् २०१८ मा फुटबल लिक्ससम्बन्धी दस्तावेज सार्वजनिक भएपछि भएको थियो । जर्मन सञ्चारमाध्यम डेर स्पिगेलले प्रकाशित गरेका कागजातमा सिटीको अबुधाबीस्थित स्वामित्व रहेको समूहसँग सम्बन्धित रकमलाई एतिहाद एयरवेज र एतिसा-लातजस्ता कम्पनीबाट आएको प्रायोजन रकमका रूपमा देखाइएको दाबी गरिएको थियो ।
त्यस्तै, तत्कालीन प्रशिक्षक रोबर्टो मानचिनीलाई अबुधाबीस्थित अर्को संस्थामार्फत परामर्श शुल्कका रूपमा लुकाएर भुक्तानी गरिएको र खेलाडीलाई आधिकारिक खातामा देखाइएको भन्दाबढी रकम दिएको आरोप पनि लगाइएको थियो ।
यता सिटीले भने यी सबै आरोप अस्वीकार गर्दै आएको छ। क्लबले, डेर स्पिगेलले सार्वजनिक गरेका इमेल गैरकानुनी रूपमा प्राप्त गरिएको र ती कागजात क्लबको प्रतिष्ठामा क्षति पुर्याउने प्रयास भएको बताएको थियो । सिटीले आफ्नो अबुधाबी युनाइटेड ग्रुप निजी लगानी कोष भएको र राज्यको अंग नभएको दाबीसमेत गर्दै आएको छ।
पछिल्लो घटनामा पनि सिटीले प्रतिक्रिया दिएको छ । १ सय १४ आरोप प्रमाणित भएको रिपोर्ट सार्वजनिक भएपछि पनि सिटी आफू दोषी भएको स्वीकार गर्न तयार छैन । क्लबले प्रिमियर लिगको प्रक्रिया अझै जारी रहेको र महत्वपूर्ण विषय नटुंगिएको दाबी गरेको छ ।
उसले यो प्रक्रिया कडा गोपनीयताको अधीनमा बुझेको बताएको छ । सिटीले सन् २०२३ मा आरोप लाग्दादेखिको आफ्नो धारणा परिवर्तन नगरेको बताएको छ । आफूले आठ वर्षदेखि सबै कानुनी प्रक्रियाको सम्मान गरेको बताउँदै प्रिमियर लिगको बोर्ड तथा कार्यकारी पक्ष निष्पक्ष, स्वतन्त्र र कुनै पक्षको प्रभावबाट मुक्त नियामकका रूपमा प्रस्तुत हुने अपेक्षा गरेको जनाएको छ ।
सिटीले टिप्पणी गरे पनि नियामक निकाय प्रिमियर लिगले भने पछिल्लो निर्णयबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन । अहिले रिपोर्ट सार्वजनिक भए पनि सजाय भने तोकिएको छैन । स्वतन्त्र आयोगले आगामी चरणमा अंक कटौती, आर्थिक जरिवाना वा प्रिमियर लिगबाट निष्कासनजस्ता विकल्पमा निर्णय गर्न सक्ने बताइएको छ ।
गम्भीर अंक कटौती भएमा त्यसले क्लबलाई रेलिगेसनको अवस्थामा समेत पुर्याउन सक्छ । त्यसैले, सिटीले यो निर्णयविरुद्ध अपिल गर्ने अपेक्षा गरिएको छ । आरोप प्रमाणित भएको रिपोर्ट आए पनि अन्तिम कारबाही र मुद्दाको पूर्ण निष्कर्ष आउन अझै समय लाग्न सक्छ ।
अपिल प्रक्रिया पनि लामो हुनसक्ने छ । जसले अर्को लामो समय अन्योल बन्ने देखाउँछ । सँगसँगै, सन् २००९ देखि २०१८ सम्मको आरोपित अवधिमा सिटीले तीन प्रिमियर लिग, एक एफए कप र तीन इएफएल कप जितेको थियो । त्यसैले सिटीका उपाधि र विगतका उपलब्धिमाथि पनि प्रश्न उठेको छ । तर, अहिलेसम्म कुनै उपाधि खोस्ने आधिकारिक निर्णय भएको छैन ।
यसबीच अन्य प्रिमियर लिग क्लबहरूले सिटीकोजस्तो आर्थिक उल्लंघनका कारण आफूलाई क्षति पुगेको दाबी गर्दै क्षतिपूर्तिको सम्भावनाबारे कानुनी सल्लाह लिन थालेको रिपोर्ट पनि सार्वजनिक भएको छ । यसअघि एभर्टनको वित्तीय नियम उल्लंघनबाट आफ्नो रेलिगेसनको सम्भावनामा असर परेको दाबी गरेको बर्नलीलाई ३५ मिलियन पाउन्ड क्षतिपूर्ति दिने निर्णय भएको थियो ।
अर्कोतर्फ चेल्सीमाथि पनि केही वर्षअघि खेलाडी ट्रान्सफरमा फाइनान्सियल नियम नमानेको आरोप लाग्दा उसलाई एक करोड पाउन्ड जरिवाना गरिएको थियो । त्यतिबेला चेल्सी ७४ मुद्दमामा दोषी ठहर भएको थियो। तर, ती मुद्दाभन्दा अहिलेको केस निकै फरक रहेको छ ।