नेपाल-श्रीलंका क्वार्टरफाइनलमा वर्षाको डर, नेपाली टोलीको एउटै प्रार्थना-‘खेल नरोकिनोस्’

आश्विन ११, २०८३ |सुवास रोकाया
नेपाल-श्रीलंका क्वार्टरफाइनलमा वर्षाको डर, नेपाली टोलीको एउटै प्रार्थना-‘खेल नरोकिनोस्’
Photo Source : CAN

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनल खेलमा मंगलबार नेपालले श्रीलंकाको सामना गर्दैछ । 

अफगानिस्तानमाथिको सानदार जित र जापानविरुद्ध वर्षाका कारण खेल रद्द भएपछि नेपालले समूह विजेताका रुपमा श्रीलंकासँगको भेट पक्का गरेको हो । तर, नागोयामा वर्षाको सम्भावनाले नेपाली क्रिकेट समर्थकलाई झस्काएको छ । 

खेल रद्द भए वरीयताका आधारमा श्रीलंका अघि बढ्ने भएकाले नेपाली टोली र नागोया पुगेका हजारौं नेपाली समर्थकको एउटै प्रार्थना छ, मंगलबार वर्षा नहोस् ।

२०औं एसियाली खेलकुदमा समूह 'ए' को विजेता बन्दै अन्तिम आठमा पुगेको नेपालले मंगलबार श्रीलंकाको सामना गर्दैछ । अफगानिस्तानमाथि पाँच विकेटको सानदार जित र जापानविरुद्ध वर्षाका कारण खेल रद्द भएपछि श्रीलंकासँगको भेट पक्का गर्न नेपालले जोडेको ३ अंक पर्याप्त भयो । 

जापानविरुद्ध वर्षाले खेल १५ ओभरमा सीमित हुँदा पनि नेपालले एक सय ४९ रनको बलियो स्कोर खडा गरेको थियो । सन्दीप जोराको अविजित ५७ र लोकेश बमको विस्फोटक ५२ रनले नेपाली ब्याटिङको आत्मविश्वास देखाइसकेको छ । त्यसअघि अफगानिस्तानलाई एक सय दुई रनमा रोक्दै पाँच विकेटको जित निकाल्दा बलिङले पनि आफ्नो धार देखाएको थियो । 

जापानको कठिन पिचमा नेपालका लागि स्पिन टु विनको मन्त्र प्रभावशाली देखिएको छ । नेपाल समूह चरणमा एकमात्र मुख्य फास्ट बलरसहित मैदानमा उत्रिएको थियो । एसियाडका लागि नेपालले आफ्नो फूल स्क्वार्डलाई मैदानमा उतार्दा इंग्ल्यान्डविरुद्ध हालैका तीन खेलको टी-२० शृंखला खेलेको टोलीभन्दा जापान आएको श्रीलंकन टोलीमा ठूलो परिवर्तन छ । 

सहान आर्चिगेलाई कप्तानी दिइएको टोलीमा निरोशन डिकवेला, चमिका करुणारत्ने र नुवान तुषारा जस्ता खेलाडी छन् । इंग्ल्यान्डविरुद्धको सिरिजमा टिममा रहेका नुवान तुषारा र थारिन्दु रत्नायकेलाई मात्र एसियाड खेल्ने श्रीलंकन टिममा समावेश गरिएको छ । 

आईसीसी टी-२० वरीयतामा श्रीलंका नवौं र नेपाल १४औं स्थानमा छन् । एसियाडको कुरा गर्दा श्रीलंका पुरुष टिमले सन् २०१४ मा स्वर्ण पदक जितेको छ भने पछिल्ला २ संस्करणमा लगातार रजत पदक जितेको थियो । नेपालले भने हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन ।

सन् २०१० को क्वार्टरफाइनलमा श्रीलंकाले नेपाललाई २ विकेटले पराजित गरेको थियो । तर, २०२४ टी-२० विश्वकपको समूह चरणमा दुई टोलीबीचको खेल वर्षाका कारण रद्द भएकाले आधिकारीक टी-२० आईमा भने नेपाल र श्रीलंका पहिलो पटक अमने सामने हुन लागेका हुन् । तर, यस खेलमा पनि वर्षाको प्रवल सम्भावना छ ।

यदि वर्षाले खेल रद्द भए टी-२० आई वरीयाताका आधारमा श्रीलंका अघि बढ्ने छ । त्यसकारण नेपाली क्रिकेट टोली, समर्थक तथा टोकियो, ओसाका र जापानका विभिन्न ठाउँबाट नागोया पुगेका नेपाली समर्थकको एकमात्र कामना वर्षा नहोस् भन्ने हो ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।