युवा खेलाडीको चमक र विश्व कीर्तिमानको गर्जन, एसियाडका चर्चित क्षण

आश्विन ९, २०८३ |विनयज्योति सापकोटा
युवा खेलाडीको चमक र विश्व कीर्तिमानको गर्जन, एसियाडका चर्चित क्षण

काठमाडौं । जापानमा जारी आइची–नागोया एसियन गेम्समा कम उमेरका खेलाडीको प्रदर्शनदेखि विश्व कीर्तिमानसम्मका घटनाले प्रतियोगितामा चर्चा पाइरहेको छ । 

१२ वर्षीया हङकङकी स्केटबोर्डरले आफूलाई ओलम्पिकमा पुग्नका लागि देखाएको बाटो र भिजनले धेरैको ध्यान खिचेको छ। क्रिकेटमा जापानले भारतसामु गरेको प्रदर्शन तारिफयोग्य मात्रै छैन एसोसिएट देशको भावना बनेको छ। 

उत्तर अमेरिकी खेलाडीले बनाएको तीन विश्व कीर्तिमान के के छन् त ? आज हामी यी र यस्तै विषयमा चर्चा गर्नेछौँ।

एसियाली खेलकुद २०२६ मा अहिलेसम्म सम्झनलायक धेरै इभेन्ट भइसके। जापानका १७ वर्षीय शिन ओहाशीले पुरुष दुई सय मिटर ब्रेस्टस्ट्रोकमा विश्व कीर्तिमानसहित स्वर्ण जिते। यो एसियन गेम्समा ओहाशीको दोस्रो स्वर्ण हो। यसअघि उनले एक सय मिटर ब्रेस्टस्ट्रोकमा पनि स्वर्ण जितेका थिए। 

उनले चीनका छिन हाइयाङले सन् २०२३ को जुलाईमा बनाएको दुई मिनेट पाँच दशमलव ४८ सेकेन्डको विश्व कीर्तिमान पनि तोडेका छन्। १२ वर्षीया हङकङकी स्केटबोर्डर कामुस वोङ पनि एसियन गेम्समा चर्चामा छिन्। उनले आफू अहिले नै ओलम्पिकका लागि तयार भइसकेको र अझ राम्रो स्केट गर्नुपर्ने साथै त्यसका लागि कडा प्रशिक्षण आवश्यक रहेको बताइन्। 

सानै उमेरमा खेलको गहिरो बुझाइले उनलाई धेरैले मन पराएका हुन्। उनी भन्दा एक वर्ष कम उमेरमा जापानका ११ वर्षीय युकी कुरिहारा एसियन गेम्सका सबैभन्दा कम उमेरका प्रतिस्पर्धी हुन्। उनी इस्पोर्ट्समा सहभागी छन्।

एसियन गेम्समा जापानको पुरुष क्रिकेट टोलीले भारतसँग मैत्रीपूर्ण खेल्यो। तर, जापानले भारतसामु गरेको प्रदर्शनले धेरैलाई खुसी बनाएको छ। त्यसपछि जापानले अफगानिस्तानसँग ४८ रनको हार बेहोरेको छ। जापानका २७ वर्षीय साकुरानो–थोमसले भारत र अफगानिस्तानजस्ता दुई पूर्ण सदस्य राष्ट्रसँग एउटै साता खेल्न पाउनु आफूले कहिल्यै नसोचेको र ठूलो उपलब्धि भएको बताएका छन्।

भारोत्तोलनमा उत्तर कोरियाकी रि सङ गुमले महिला ४९ केजी तौल समूहमा तीनवटा विश्व कीर्तिमान बनाउँदै उत्तर कोरियालाई एसियन गेम्सको पहिलो स्वर्ण दिलाइन्। उनले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा पनि तौल सूधार गरेकी हुन्। उनी एसियन गेम्समा तीनवटा भारोत्तोलन स्वर्ण जित्ने पहिलो महिला बनेकी छन्। 

भारतकी मिराबाई चानुले ४९ केजीमा १ सय ९८ केजी कुल भारसहित रजत जितिन्। महिला साइक्लिङ रोड रेसमा अफगानिस्तानकी फरिबा हाशिमीले रजत पदक जितेकी छन्। हाशिमीसँगै चीनकी ली गुओले समान दुई घण्टा ५० मिनेट पाँच सेकेन्डको समय निकालेका थिए। 

२३ वर्षीया हाशिमीले करिब १५ वर्षको उमेरमा साइक्लिङ सुरु गरेकी थिइन्। उनले आफ्नो देशमा खेलकुदमा सहभागी हुने महिलामाथि आक्रमणको जोखिम रहेकोले प्रशिक्षणमा जाँदा आफूलाई पुरुषका रूपमा प्रस्तुत गर्नुपर्ने अवस्था रहेको बताइन्।

एसियन गेम्समा पहिलोपटक समावेश गरिएको टेकबलले पनि दर्शकको ध्यान खिच्यो। फुटबल र टेबल टेनिसका नियम र साधन मिसाइएको जस्तो देखिने टेकबललाई दर्शकले उत्साहसाथ हेरेका छन्। ओलम्पिकमा समेत समावेश गेर्नुपर्ने लबिङ भइरहेको यो खेलमा थाइल्यान्डले तीन स्वर्ण जित्यो।

एसियन गेम्सको पहिलो पदक प्रतिस्पर्धामा आयोजक जापानले नै स्वर्ण जितेको थियो। जापानका ताकुमी होजोले पुरुष व्यक्तिगत ट्रायथलनमा ५२ मिनेट ५६ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते। चीनले पहिलो रजत जित्यो भने कजाखस्तानले पहिलो कास्य।

प्रतियोगितामा भारतको महिला क्रिकेट टोलीले श्रीलंकालाई फाइनलमा पराजित गर्दै एसियन गेम्समा स्वर्ण जितेको छ। भारतका सुरुची सिंह र कमलजीतले १० मिटर एयर पेस्तोल मिक्स्ड टिममा स्वर्ण जितेका छन्।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।