
गाेरखा । गत भदौ १४ गते पृथ्वी राजमार्गको कृष्णभीरमा भासिएको सडक डाइभर्सन निर्माण गरेर सञ्चालनमा त ल्याइयो । तर, यसमा पटकपटक अवरोध भइरहेको छ ।
त्यसैले यसको दीगो समाधान खोज्न त्रिशुली पारी गोरखातर्फ भएर चितवनको फिस्लिङदेखि धादिङको बेनिघाट जोड्ने गरी वैकल्पिक सडक बनाउन थालिएको छ ।
पृथ्वीराजमार्गको धादिङ खण्डमा यात्रा गर्नेलाई अहिले कृष्णभीरको पीर छ । गत भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि भीरमाथि नयाँ ट्रयाक खोलेर असोज १ गतेदेखि यातायात खुलाइएको त छ तर असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको झरीले यो ठाउँमा पहिरो आएर यातायात सञ्चालन चुनौतीपूर्ण बनाएको छ ।
त्यसैले कृष्णभीरको पहिरो छल्न त्रिशुलीवारी गोरखातर्फको सडकको स्तरोन्नतिको काम सुरु भएको छ । सडकको १.८ किलोमिटर मात्र ट्र्याक खोल्न बाँकी रहेकोमा गत सातादेखि चारवटा डोजर लगाएर ट्र्याक खोल्न थालिएको हो ।
चितवनको फिस्लिङबाट गोरखाको गण्डकी गाउँपालिकातर्फ कौदी, ज्यामिरेघाट पल्लोटार सिउरेनीटार हुँदै धादिङको बेनिघाट निस्कन्छ । १८ किलोमिटरको यो सडकको ज्यामिरेघाटदेखि सिउरेनीटारसम्म १० किलोमिटर संघ र प्रदेशको समपूरक बजेटअन्तर्गत कालोपत्रेका लागि ठेक्का लागेर कामअघि बढेको छ ।
त्यस्तै गण्डकी गाउँपालिकाले साखर, कौदीदेखि ज्यामिरेघाटसम्म ६.५ किलोमिटर यसअघि नै ट्र्याक बनाइसकेको छ । अहिले काम भइरहेको १.८ किमि सडक ट्र्याक खोलेसँगै यो सडक सञ्चालनमा आउनेछ । चितवनको फिस्लिङ र धादिङको बेनीघाटमा त्रिशुली नदीमाथि रहेको मोटरेबल पुलले यो सडकलाई पृथ्वीराजमार्गसँग जोड्छ ।
पहिरो गइरहने क्षेत्र कृष्णभीर र जोगिमाराको विकल्प गोरखाको यो सडक बन्नसक्ने बुझाइ छ ।