१३ वर्षमै एसियाडमा तीन स्वर्ण, यु जिदीले पौडीमा देखाइन् भविष्यको झल्को

आश्विन ९, २०८३ |सुवास रोकाया
१३ वर्षमै एसियाडमा तीन स्वर्ण, यु जिदीले पौडीमा देखाइन् भविष्यको झल्को

काठमाडौं । चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले जापानमा जारी २०औं एसियाली खेलकुदमा तीन स्पर्धामा प्रतिस्पर्धा गर्दा तीन स्वर्ण जितिन् । 

विश्व पौडीमा आफ्नो उदयको सानदार उद्घोष गरेकी यु जिदीले १३ वर्षकै उमेरमा हासिल गरेको यो उपलब्धिले सन् २०२८ को लस एन्जलस ओलम्पिकमा समेत पदकको दाबेदारका रूपमा प्रस्तुत गरेको छ ।

उमेर केवल १३ वर्ष, तर उपलब्धिको उचाइ भने उमेरभन्दा कैयौं गुणा ठूलो, चीनकी पौडीबाज यु जिदीले जापानमा जारी २०औं एसियाली खेलकुदमा आफूलाई भविष्यको सम्भावना मात्र नभइ वर्तमानकै चम्किलो प्रतिभाका रूपमा स्थापित गरेकी छन् । 

एसियाली खेलकुदमा पहिलोपटक सहभागी भएकी उनले तीन व्यक्तिगत स्पर्धामा तीन स्वर्ण जित्दै आफ्नो नाम इतिहासमा लेखाएकी हुन् । महिला दुईसय मिटर बटरफ्लाईबाट सुरु भएको उनको स्वर्ण यात्रा प्रत्येक स्पर्धासँगै अझ प्रभावशाली बन्दै गयो । 

दुईसय मिटर व्यक्तिगत मेड्लीमा एसियाली कीर्तिमान कायम गर्दै उनले स्वर्ण जितिन् । आफ्नै देशकी तथा साविक विजेता यु यितिङसँग उनको प्रतिस्पर्धा निकै रोमाञ्चक थियो । बुधबार चारसय मिटर व्यक्तिगत मेड्लीमा उनले सुरुदेखि नै अग्रता कायम राखिन् । 

अन्तिम ५० मिटरमा सानदार प्रदर्शन गर्दै ४ मिनेट २८ दशमलव ५६ सेकेन्डको समयसहित स्वर्ण जितिन् । यससँगै उनले एसियाली खेलकुदमा नयाँ कीर्तिमान बनाइन् र साविक कीर्तिमानभन्दा करिब साढे ४ सेकेन्ड छिटो पौडिइन् । विश्व कीर्तिमानधारी समर म्याकिन्टोसले मात्र यस वर्ष उनीभन्दा तीव्र पौडिएकी छन् ।

तीन स्पर्धा, तीन स्वर्ण यु जिदीले एसियाली खेलकुदको पौडी पोखरीमा छुट्टै परिचय बनाएकी छन् । उनको यो सफलता अचानक आएको भने होइन । गत वर्ष १२ वर्षकै उमेरमा उनी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पदक जित्ने सबैभन्दा कम उमेरकी खेलाडी बनेकी थिइन् । 

चीनको रिले टोलीबाट उनले कास्य जितेकी थिइन् । त्यसपछि उनको नाम पौडी विश्वमा सम्भावनाको अर्को पर्याय बन्दै गयो । मार्चमा चाइना ओपनमा उनले दुईसय मिटर बटरफ्लाईमा सात पटककी अमेरिकी ओलम्पिक पदक विजेता रेगन स्मिथलाई पछि पार्दै आफ्नो क्षमताको अर्को प्रमाण दिएकी थिइन् । 

एक वाटर पार्कमा पौडी खेलिरहेको देखेपछि प्रशिक्षकको नजरमा परेपछि उनले प्रतिस्पर्धात्मक पौडीमा पाइला टेकेकी हुन् । अहिले उनी विश्वको ध्यान तानिरहेकी छन् । १३ वर्षकी स्कुले बालिका यु जिदीलाई २०२८ एस एन्जलस ओलम्पिकमा समेत पदकको दाबेदारका रुपमा हेरिएको छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।