इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले गर्‍यो ११ निर्णय

आश्विन २२, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले गर्‍यो ११ निर्णय

काठमाडौं । सरकारले इजरायलमा हमासको आक्रमणमा परेर मृत्यु भएका नेपाली विद्यार्थीका परिवारलाई जनही १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपालीको उद्धारका लागि ११ वटा निर्णय गरेको छ ।

सूचना तथा सञ्‍चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले गरेको निर्णय सुनाउँदै भनिन्, ‘मृतकका परिवारलाई दश लाख रुपैयाँ उपलब्ध गराउने र उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत निकासा गर्ने निर्णय भएको छ ।’

प्रवक्ता शर्माका अनुसार सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोक मनाउने निर्णयसमेत गरेको छ । जसअनुसार देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ । साथै सरकारले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई यथाशीघ्र स्वदेश फर्काउने निर्णय गरेको पनि शर्माले जानकारी दिइन् ।

सरकारले इजरायल घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न आह्वान गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्ले आज गरेका ११ निर्णय :

१. मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दश) जना नेपालीको दुःखद् निधन भएकोमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने ।

२. यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने ।

३. परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने ।

४. यस घटनामा निधन भएका नेपालीहरुको परिवारलाई राहतस्वरुप प्रतिपरिवार दश लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत निकासा दिने ।

५. इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने ।

६. इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने । स्वदेश फर्कन चाहने इजरायलमा रहनुभएका नेपालीहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने ।

७. अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने ।

८. इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन (तीन) महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।

९. इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने । नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।

१०. इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने ।

११. यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्ने ।

थप समाचार...

इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई १० लाख रुपैयाँ राहत, मंगलबार राष्ट्रिय शोक

प्रवेशले उठाएको खुसी महिनादिनमै ढल्यो

इजरायलबाट नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय

इजरायलबाट फर्किन चाहने नेपालीलाई स्वदेश ल्याउने सरकारको तयारी

इजरायलबाट नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय

के हो इजरायल-प्यालेस्टाइन युद्ध ?

हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

विज्ञहरु भन्छन्- उद्धारमा ध्यान देऊ (भिडियो)

इजरायलमा रहेका नेपालीको सहयोग र सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकियो

शोकमा मृतकका आफन्तजन, घाइतेलाई चाँडो उद्धारको याचना

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

इजरायलमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्रीको आश्वासन- उद्धारको तयारी गरिरहेका छौं


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement