विज्ञहरु भन्छन्- उद्धारमा ध्यान देऊ (भिडियो)

आश्विन २१, २०८० |कान्तिपुर टीभी संवाददाता
विज्ञहरु भन्छन्- उद्धारमा ध्यान देऊ (भिडियो)

काठमाडौं । परराष्ट्र मामिलाका विज्ञहरुले सन्तुलित कूटनीति अपनाउँदै इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट तत्काल नेपाली नागरिकको उद्धार गर्न सुझाव दिएका छन् ।

इजरायल तथा प्यालेस्टाइन दुवै पक्षसँग प्रत्यक्ष सम्पर्कमा रहेर तथा कुनै पनि पक्षलाई नचिढ्याईकन नेपालीको उद्धारमा जुट्नुपर्नेमा उनीहरुको जोड छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले मुलुक युद्धमा होमिएको भनेर दिएको अभिव्यक्तिले अझै अप्ठ्यारा दिनहरु आउन सक्ने भन्दै उनीहरुले त्यसप्रति सचेत हुन समेत आग्रह गरेका छन् । ‘जुनसुकै मुलुकमा नेपालीहरु पुग्छन् त्यहाँ अफ्ठयारो परेको अवस्थामा उनीहरुको उद्धार गर्ने जिम्मेवारी सरकारको पर्ने गर्छ,’ पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने, ‘सरकार भनेको सोझै जाने होइन । त्यहाँको कूटनीतिक नियोगमा मानिसहरु पुग्ने हो ।’ उनले त्यहाँ फसेकाको चाँडो उद्धार कसरी गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन आवश्यक रहेको सुझाए ।

यस्तै परराष्ट्रविज्ञ निश्चलनाथ पाण्डेले युद्धग्रस्त मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइने कार्य नै बन्द गर्नुपर्ने सुझावसमेत दिएका छन् । ‘नेपाली युवाहरुलाई विभिन्न युद्धग्रस्त वा युद्ध हुनसक्ने मुलुकमा पठाउने क्रियाकलाप नै बन्द गर्नुपर्छ,’ उनी भन्छन् ।

उद्धारका क्रममा विगतमा भएका त्रुटिबाट पाठ सिक्दै सरकारले स्थिति नियन्त्रणमा लिन सक्नुपर्ने उनीहरुको भनाइ छ । इजरायलमा नेपालीको अवस्थाबारे समेत सरकारले सार्वजनिक गर्नुपर्ने सुझाव उनीहरुले दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement