‘हामी आउँदैछौँ’ अभियानमा रास्वपा : जनताले के भने, नेताले के सुने ?

आश्विन २४, २०८३ |राजु चौधरी|अमर क्षितिज भण्डारी
‘हामी आउँदैछौँ’ अभियानमा रास्वपा : जनताले के भने, नेताले के सुने ?

चितवन-काभ्रे-दाङ । सरकारले गरेका कामका बारेमा जानकारी दिन र नागरिकका गुनासा सुन्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘हामी आउँदैछौँ’ अभियान सुरु गरेको छ । 

असोज २० देखि २७ गतेसम्म सञ्चालन हुने अभियानका लागि पार्टीका सांसददेखि नेतासम्म जिल्ला जिल्ला पुगेका छन् । नागरिकका कुरा सुन्न गएकाहरु कतै निर्देशन दिन त कतै आफ्ना कुरा बढी सुनाउन र स्थानीय निर्वाचनको पूर्व तयारी गर्न गए जस्तो देखिन्छ । 

जिल्ला तथा निर्वाचन क्षेत्र पुगेका नेता तथा सांसदहरुले के लगेर गएका छन्, के ल्याउँदैछन् त ?

यहीँ अभियानलाई सफल बनाउन पार्टीले हरेक जिल्ला तथा निर्वाचन क्षेत्रहरुमा प्रतिनिधि सभा सदस्यदेखि पार्टी नेतृत्व तथा केन्द्रीय सदस्यहरुलाई खटाएको छ । पार्टीले खटाएका विभिन्न ठाउँमा पुगेका सांसद तथा पार्टी नेताहरुले पार्टीको नीतिदेखि सरकारका कामका बारेमा सुनाउने र नागरिकका कुरा सुन्ने कामलाई अघि बढाएका छन् ।

गत फागुन २१ को निर्वाचनपछि सरकारको बागडोर सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालयको संख्या घटाउनेदेखि हेलो सरकार कार्यक्रममार्फत नागरिकका गुनासा सुन्ने र समाधान गर्नेलगायतका काम नागरिकलाई सुनाएका छन् । 

धेरै नेताहरुले नागरिकका कुरा सुन्ने भन्दा पनि आफ्ना कुरा धेरै राख्ने सरकारी कार्यालयका कर्मचारी जम्मा गरी निर्देशन दिने कामहरु पनि यो अभियानमा भएका छन् । नेताहरुले विपक्षीले फैलाउने भ्रम चिर्न आफूहरूले गरेका काम र उपलब्धिको स्पष्ट विवरण लिएर जनतामाझ आएको दाबी उनीहरुको छ ।

अभियानमा पार्टीका सबै तहका नेता कार्यकर्ताहरुको तिता मिठा सबै कुरा सुनेर आवश्यकताअनुसार विधि विधान परिवर्तन गर्ने गरी नै कुरा सुन्न आएको नेताहरुको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीले यो अभियानलाई आउँदो स्थानीय तह निर्वाचनको पूर्व तयारीका रुपमा पनि लिएको छ । 

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीले ल्याएको क्यान्डिडेट क्लबका विषयमा स्थानीय नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने काम पनि गरेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीले ल्याएको क्यान्डिडेट क्लब नेपाली राजनीतिमा देखिएको विकृतिलाई शुद्धीकरण गर्ने विधि रहेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टीको छ ।

असोज २० गतेदेखि २७ गतेसम्म सञ्चालन भएको यो अभियानका नागरिकबाट कस्ता कुराहरु आएका छन् त ? 

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा दाङ क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्य । नागरिकको सर्वोपरि हितलाई ध्यानमा राखेर गरिने यस्ता अभियानले सरकारका कामलाई जनता माझ पुराउने र भुँइमान्छेका वास्तविक गुनासा सुन्ने तथा कार्यान्वयनमा लैजाने हो भने यसको सार्थकता रहने र अन्यथा अभियान अभियानमा मात्रै सीमित रहने नगरिक अगुवाहरुको भनाइ छ ।

विभिन्न राजनीतिक दलहरुले चलाउने यी र यस्ता अभियान नेता र नेतृत्वका गुनगान गाउने, आफूमात्रै नेता बन्ने र नेतृत्वमा पुग्ने कुरालाई महत्व दिने भन्दा पनि चार्डपर्वका मुखैमा भएको विभिन्न वस्तुमा भएको मुल्यवृद्धि, महँगी नियन्त्रण, तथा जनजिविकाका सवाललाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनुपर्ने देखिन्छ ।

राजु चौधरी, ज्योति श्रेष्ठ र अमर क्षितिज भण्डारीकाे रिपाेर्ट


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।