हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

आश्विन २१, २०८० |कान्तिपुर टीभी संवाददाता
हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार मृतकहरु सबै विद्यार्थी हुन् । बेपत्ता एकजनाको पनि खोजी कार्य तीव्र बनाइएको उनको भनाइ छ ।

राजदूत रिजालका अनुसार किबुज अलुमिनमा रहेका १७ विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । यसको जाककारी परराष्ट्र मन्त्रालयलाई गराइएको उनले कान्तिपुर टेलिभिजनलाई जानकारी दिइन् । ‘हामीले नचाहँदा नचाहँदै दु:खद खबर सुनाउनु पर्‍यो । घाइते विद्यार्थीलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजराइलको सबै तहमा प्रयास गरेका थियौं । जुन सफल हुन सकेन,’ रिजालले भनिन्, ‘नामसहितको विवरण भने भोलि सार्वजनिक गर्ने तयारी गरेका छौं ।’

चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान ६ बजेदेखि ७ बजेको समयमा उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

ती विद्यार्थी गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.