के हो इजरायल-प्यालेस्टाइन युद्ध ?

आश्विन २१, २०८० |हरहरि उपाध्याय
के हो इजरायल-प्यालेस्टाइन युद्ध ?

काठमाडौं । इजरायल र हमासबीच शनिबारदेखि जारी युद्धमा दुवैतर्फ करिब एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने हमासका लडाकुहरुले इजरायलका सर्वसाधारण र सैनिक गरी एक सयभन्दा बढीलाई बन्दी बनाएका छन् । यो युद्धले दुवै पक्षबीचको दशकौं लामो विवादबारे स्वाभाविक जिज्ञासा उत्पन्न भएको छ ।

सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्वयुद्धमा तत्कालीन ओटोमन साम्राज्य पराजित भएपछि बेलायतले प्यालेस्टाइन क्षेत्र आफ्नो नियन्त्रणमा लियो, जहाँ बहुसंख्यक अरब र अल्पसंख्यक यहुदी बस्दै आएका थिए । प्यालेस्टाइनमा यहुदीका लागि छुट्टै मातृभूमि स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले बेलायतलाई भनेपछि अरबहरुले त्यसको विरोध जनाए । यहीबाट भएको थियो प्यालेस्टिनी अरब समुदाय र यहुदीबीच द्वन्द्वको बीजारोपण । योबीचमा विश्वका विभिन्न देशमा छरिएर रहेका यहुदीहरु आफनो बेग्लै मातृभूमि निर्माण गर्ने भनेर प्यालेस्टाइनमा ओइरिए ।

१९२० देखि १९४० को दशकमा त्यहाँ आइपुग्ने यहुदीको संख्या उल्लेख्य रुपमा बढ्यो । अरब र यहुदीबीचको द्वन्द्वका साथै बेलायती शासनविरुद्धको संघर्ष बढ्दै गएपछि १९४७ मा राष्ट्रसंघले प्यालेस्टाइनलाई यहुदी र अरब दुई राज्यमा विभाजित गर्ने र जेरुसलमलाई अन्तर्राष्ट्रिय प्रशासनअन्तर्गत राख्ने प्रस्ताव पारित गर्यो । यहुदी नेतृत्वले सो योजनाको स्वागत गरे तर अरबहरुले अस्वीकार गरे ।

विवाद साम्य पार्न नसकेपछि सन् १९४८ मा बेलायती सरकार उक्त क्षेत्रबाट बाहिरियो । र, यहुदी नेताहरुले इजरायल नामको देश स्थापना गरेको घोषणा गरे । सन् १९४८को मे १४मा स्टेट अफ इजरायल गठनको घोषणा गरिएपछि अरब लिगले प्यालेस्टिनीको पक्षबाट हस्तक्षेप गर्ने निर्णय गर्यो र अरब-इजरायल युद्ध भड्कियो । सन् १९४९ मा भएको युद्धविराम सम्झौतासँगै यो युद्ध अन्त्य भयो । त्यसबेला प्यालेस्टाइनी भूभाग स्टेट अफ इजरायल, जोर्डन नदीको किनारमा पर्ने द वेस्ट ब्यांक र गाजा क्षेत्रमा बाँडिएको थियो ।

वेस्ट ब्यांकमा जोडर्नले कब्जा जमायो भने इजिप्टले गाजा स्ट्रिप । जेरुसेलम पनि दुई भागमा विभाजन भयो जसमध्ये पश्चिमी भाग इजरेली सेनाको नियन्त्रणमा रह्यो भने पूर्वी भाग जोर्डन सेनाको कब्जामा रह्यो ।

सन् १९६७ मा इजरायल र अरबबीच ६ दिनसम्म चलेको युद्धपछि इजरायलले पूर्वी जेरुसलम, वेस्ट ब्यांक र गाजा क्षेत्र नियन्त्रणमा लियो । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन र इजरायलबीच भएको ओस्लो शान्ति सम्झौताअन्तर्गत वेस्ट ब्यांकका केही भाग र गाजा स्ट्रिप प्यालेस्टिनियन नेसनल अथोरिटीका नाममा प्यालेस्टिनीहरुअन्तर्गत आयो । अहिले वेस्ट ब्यांकमा तत्कालीन प्यालेस्टिनियन नेसनल लिबरेसन मुभमेन्ट र हालको फताह पार्टीको सरकार छ भने गाजा क्षेत्रमा हमासको शासन छ । गाजा र वेस्ट ब्यांक क्षेत्र एक-आपसमा जोडिएका भने छैनन् ।

यिनीहरुबीचको क्षेत्रमा इजरायलको भूमि पर्दछ । हाल वेस्ट ब्यांक १६५ वटा प्यालेस्टिनियन इनक्लेभ र दुई सयवटा इजरायली सेटलमेन्टमा विभाजित छ । प्यालेस्टिनियन इनक्लेभमा प्यालेस्टिनियन नेसनल अथोरिटीको शासन छ भने इजरायली सेटलमेन्ट पूर्णत इजरायली नियन्त्रणमा छ ।

२००६ मा भएको निर्वाचनबाट गाजामा हमास सत्तामा आएको हो भने त्यसयता इजरायलले गाजामाथि जल, स्थल हवाई नाकाबन्दी लगाउँदै आएको छ । जसका कारण यहाँका मानिसहरु स्वतन्त्र रुपमा बाहिर जान वा भित्र प्रवेश गर्न पाउँदैनन् । इजरायल र प्यालेस्टिनीहरु सहमतिमा आउन नसक्ने सबैभन्दा महत्त्वपूर्ण मुद्दा इजरायलसँगै प्यालेस्टिनी राज्य बनाउने/नबनाउने भन्ने नै हो ।

यसका साथै छिमेकी देशमा रहेका प्यालेस्टिनी शरणार्थीलाई के गर्ने, वेस्ट ब्यांकमा रहेको यहुदी बस्ती कायमै राख्ने कि हटाउने, जेरुसलम दुवै पक्षले भाग लगाउने कि नलगाउनेजस्ता विवाद छन् ।

-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement