
काठमाडौं । नेताहरुलाई भाग पुर्याउन नेपाली कांग्रेसले २ सय ९७ सदस्यीय जम्बो केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।
महाधिवेशन प्रतिनिधिको संख्या डबल भएसँगै केन्द्रीय कार्यसमिति पनि झन्डै दुई गुना ठूलो हुने भएको छ। सबैलाई समेट्ने र पार्टीलाई बलियो बनाउने उद्देश्यले सांगठनिक स्वरुपमा परिमार्जन गरिएको कांग्रेसले दाबी गरेको छ ।
चुनावअघि संसदको सबैभन्दा ठूलो शक्ति कांग्रेस चुनावपछि आधामा साँघुरिएको छ, देउवा र कोइराला समूह महाधिवेशनभन्दा बाहिर रहँदा पार्टीको आकार थप सानो भएको छ। तर, उसले पदाधिकारी र केन्द्रीय समितिको आकार भने ह्वात्तै बढाएको छ।
गत पुसमा विशेष महाधिवेशन गरेको कांग्रेसले नौ महिनामै पार्टीको विधान संशोधन गर्दै सांगठनिक स्वरुपमा परिमार्जन गरेको छ । अब पदाधिकारीमा सभापति, वरिष्ठ उपसभापति, तीन उपसभापति र तीन महामन्त्री रहने निर्णय गरिएको छ । १ सय ६५ कार्यसमितिलाई विस्तार गरी २ सय ८१ पुर्याइएको महामन्त्री प्रदिप पौडेलले जानकारी दिए ।
अघिल्लो महाधिवेशनमा साढे ४ हजार हाराहारीमा रहेका महाधिवेशन प्रतिनिधि अहिले झन्डै आठ हजार पुगेसँगै केन्द्रीय समितिको संख्या बढाउने निर्णय गरिएको छ । पार्टीले जेन-जी युवा, महिला, खस-आर्य, मधेशी, मुस्लिम, दलित, थारु, पिछडिएका क्षेत्र, अपाङ्गता, पेसालगायत सबै वर्ग, क्षेत्र, भूगोल समेट्ने गरी केन्द्रीय सदस्यको संख्यासमेत वृद्धि गरेको छ ।
सांगठनिक संरचनामा परिमार्जन गरी सबै क्षेत्रको पहुँच सुनिश्चित भएसँगै पार्टीलाई थप बलियो र जनताको आवाज मुखरित गर्न सघाउ पुग्ने महाधिवेशन प्रतिनिधि बताउँछन् । यसैगरी पार्टीले महिला सहभागिताको सुनिश्चिततासँगै सशक्तिकरणमा पनि जोड दिएको सहभागीको भनाइ छ ।
संस्थापक बीपी कोइरालाको विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै कांग्रसले केन्द्रीय तह मात्र नभइ प्रदेश, जिल्ला हुँदै वडा तहसम्मको संरचनामा परिमार्जन गर्ने निर्णय गरेको छ ।