काठमाडौं । कृषि तालिम लिन इजरायल पुगेका आनन्द साहको हमासको आक्रमणमा मृत्यु भएपछि धनुषाको सपही गाउँ शोकमा डुबेको छ ।
इजरायलमा आतंककारी आक्रमणमा ज्यान गुमाउने १० नेपालीमध्ये धनुषाको लक्ष्मीनिया गाउँपालिका ४, सपहीका २२ वर्षिय आनन्द साह पनि हुन् । उनी इजरायल गएको २६ दिन मात्रै भएको थियो । एक मात्र छोराको विदेश गएको एक महिना नहुँदै निधन भएको खबरले परिवार शोकमा डुबेको लक्ष्मीनिया गाउँपालिका ४ का वडाध्यक्ष रमेश साहले जनाए ।
छोराको निधनको खबर सुनेर आमा, बुबा सबै मूर्च्छित छन् । अहिले सिंगो गाउँ शोकमा डुबेको छ । सोमन साहका एक छोरा र तीन छोरी हुन् । पढाइमा मिहिनेती आनन्द कृषिसम्बन्धी तालिम लिन गत भदौ २६ गते मात्र इजरायल गएका थिए ।
मृतक १० मध्ये ७ विद्यार्थी सुदूरपश्चिमका
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चर्केको लडाइँका क्रममा मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये ७ जना सुदूरपश्चिमका छन् । सुदूरपश्चिमबाट गएका सात नेपाली विद्यार्थी मारिएको खबपछि सुदूरपश्चिम शोकमा छ ।
पढ्न गएका छोराहरुको मृत्युको खबरले परिवारमा शोक छाएको छ । ती विद्यार्थीहरू गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको 'अर्न एन्ड लर्न प्रोग्राम' का लागि इजरायल पुगेका थिए ।
सुदूरपश्चिम सरकारले मृतक परिवारलाई जनही २ लाख दिने
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले मृतक परिवार लाई दुई/दुई लाख रुपैयाँ दिने घोषण गरेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार तथा मृतकको शव फिर्ता ल्याउन आग्रह गरेका छन् ।
यसैबीच धनगढीका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले द्वन्द्वमा फसेका विद्यार्थीको उद्धारमा ढिलाइ गरेको भन्दै आज सरकारविरुद्ध धनगढीमा प्रदर्शन गर्नुका साथै केहीबेर प्रशासन घेराउ गरे ।
छोरा खोजी दिन आग्रह
इजरायल घटनामा परी बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको परिवारले उनको खोजी गरी उद्धार गरिदिन सरकार र दूतावाससँग अनुरोध गरेको छ ।
भीमदत्त नगरपालिका ३ घर भई कृषि विज्ञान विषयमा स्नातक तहको अध्ययनपश्चात् ११ महिनाको प्रयोगात्मक अभ्यासका लागि इजरायल गएका विपिनको अवस्था अहिलेसम्म अज्ञात छ । सरोकारवाला निकायसँग बुझ्दा अहिलेसम्म कुनै आधिकारिक जानकारी नपाएकाले यथाशीघ्र विपिनको अवस्था पत्ता लगाई उद्धार गरिदिन परिवारजनले अनुरोध गरेको विपिनका दाइ ईश्वर जोशीले जनाए ।
विपिनको घरपरिवार यति बेला भाव विहृवल भएको छ । घरका सबै सदस्य र छरछिमेकी तथा आफन्तजनको रुवाबासी छ । सिकाइसँगै कमाइ कार्यक्रमका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय स्नातक तह आठौं सेमेस्टरका ४९ विद्यार्थीलाई ६ समूहमा बाँडेर अलग-अलग कृषि फार्ममा पठाइएको थियो । उनीहरूमध्ये १७ नेपाली विद्यार्थीसमेत रहेको फार्ममा आक्रमण हुँदा महेन्द्रनगरका विपिन जोशीको अवस्था अज्ञात छ ।
कैलालीको घोडाघोडीका नारायणप्रसाद न्यौपाने र बौनियाका आशिष चौधरी, दार्चुलाको लेकमका दीपेशराज विष्ट र मालिकार्जुनका लोकेन्द्रसिंह धामी, डोटीको पचनालीका राजन फुलारा र लामीखालका पदम थापा तथा बझाङको जयपृथ्वीका गणेशकुमार नेपालीको मृत्यु भएको दूतावास स्रोतले जनाएको छ । कैलालीको टीकापुरका धनबहादुर चौधरीको उपचार भइरहेको छ भने त्रिशक्ति भजनीका वीरेन्द्र चौधरी सुरक्षित रहेको जनाइएको छ ।
प्रवीण डाँगी खतरामुक्त
यसैबीच इजरायलमा भएको रकेट आक्रमणपछि घाइते दाङका प्रवीण डाँगी खतरामुक्त रहेको परिवारले जनाएको छ । दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका २३ वर्षीय प्रवीण डाँगीको खुट्टामा गोली लागेको र आज अप्रेसनको कुरा भइरहेको उनका बुबा नीमबहादुर डाँगीले जनाए ।
गत शनिबार कोठामै बसेको समयमा प्रवीण आक्रमणमा परेको र पछि बंकरमा गएर ज्यान जोगाएको प्रवीणले फोनमा परिवारलाई बताएका थिए ।
आक्रमणबारे सञ्चारमाध्यमबाट थाहा पाए पनि आफ्नो छोराबारे सुरुमा केही जानकारी नभएको र राति ११ बजे छोराले म मरे पनि घरमा आमाको उपचार गराइदिनु भन्दै अनुनयसहितको छोटो भिडियो सामाजिक सञ्जालमा बाहिर आएपछि आफूहरु बेचैनी भएको बुवा नीमबहादुरले सुनाए ।
हिजो (आइतबार) बेलुका ७ बजे इजरायलमा १० वर्षदेखी बस्दै आएकी नेपाली महिलाको सहयोगमा छोरासँग कुरा भएपछि आफूहरुलाई केही राहत भएको नीमबहादुरको भनाइ छ ।
स्थानीय विद्यालयमा शिक्षण पेसामा रहेका नीमबहादुर विद्यालय नगएर छोराको थप खबर आउँछ कि भन्दै घरमै रुँगेर बसेका छन् । उनलाई फोनबाट र घरमै पनि सान्त्वना दिन आइरहेका छन् । २०७५ देखी बीएस्सी एजी पढिरहेका प्रवीण गत भदौ २६ गते ११ महिनाको अभ्यास शिक्षणका लागि इजराल गएका थिए ।
सल्यानका प्रवेशको निधन
प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा सल्यानको शारदा नगरपालिकाका २४ वर्षीय प्रवेश भण्डारीको पनि निधन भएको छ । शारदा नगरपालिका ३, साहुटोलका भण्डारीको मृत्युको खबरले परिवार यतिबेला शोकमा डुबेको छ । छोराको मृत्युको खबर सुनेका परिवारले शव छिटो नेपाल ल्याइदिन सरकारलाई आग्रह गरेका छन् ।
विधान सेजवालको खुट्टामा चोट, प्रमोद केसी सुरक्षित
सल्यानकै शारदा नगरपालिका २ का विधान सेजवाल भने घाइते छन् । उनको इजरायलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै खुट्टामा चोट लागेको छ । सल्यान त्रिवेणी गाउँपालिका १ का प्रमोद केसी भने सुरक्षित रहेको बताइएको छ ।
थप समाचार...
प्रवेशले उठाएको खुसी महिनादिनमै ढल्यो
इजरायलबाट नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय
इजरायलबाट फर्किन चाहने नेपालीलाई स्वदेश ल्याउने सरकारको तयारी
इजरायलबाट नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय
के हो इजरायल-प्यालेस्टाइन युद्ध ?
हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु
विज्ञहरु भन्छन्- उद्धारमा ध्यान देऊ (भिडियो)
इजरायलमा रहेका नेपालीको सहयोग र सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकियो