इजरायलमा रहेका नेपालीको सहयोग र सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकियो

आश्विन २२, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलमा रहेका नेपालीको सहयोग र सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकियो

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धार तथा सहजीकरणका लागि सम्पर्क व्यक्ति तोकेको छ ।

प्यालेस्टाइनी विद्रोही समूह समासले इजरायलमाथि आक्रमण गरेपछि अलपत्र परेका नेपालीहरुलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्न मन्त्रालयले सम्पर्क व्यक्ति तोकेको हो ।

मन्त्रालयले प्रवक्ता सेवा लम्सालसहित ६ जनालाई सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता एवं सहसचिव सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ ।

यस्तै इजरायलस्थित तल अबिवमा रहेको नेपाली राजदूतावासकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकिएको छ ।

मन्त्रालयले सम्पर्क व्यक्तिहरुको फोन नम्बरसहित ईमेलसमेत उपलब्ध गराएको छ । मन्त्रालयकी प्रवक्ता एवं सहसचिव सेवा लम्साललाई सम्पर्क गर्न फोन नम्बर ९८५१३१०२२९ कल गर्न सकिने छ । यस्तै सहसचिव आरणको फोन नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको ९८४१४०३३६२, शाखा अधिकृत कृष्ण सिलवालको ९८४९१७९५२० रहेको छ ।

यस्तै इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालसँग सम्पर्क गर्न फोन नम्बर +९७२५४५८६४४२३ मा कल गर्न सकिने छ । प्रथम सचिव अर्जुन घिमिरेलाई सम्पर्क गर्ने फोन नम्बर +९७२५२८२८९३०० रहेको मन्त्रालयले जनाएको छ।

हमासले इजरायलमाथि शनिबार गरेको भीषण आक्रमणमा केही नेपालीसमेत परेका छन् । मन्त्रालयले उक्त घटनामा परी १० नेपाली नागरिकको ज्यान गएको जनाएको छ । साथै एक जना सम्पर्कविहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.