काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको छैठौं दिन भोट हाल्न जुटेका महाधिवेशन प्रतिनिधिले सक्षम र देशको मुद्दालाई सम्बाेधन गर्ने नेतृत्व चयन हुने बताएका छन् ।
चार वर्षका लागि नयाँ नेतृत्व चयनमा जुटेका प्रतिनिधिले अब आफूहरु गाउँ फर्किएपछि कांग्रेसमा देखिएको उर्जालाई संगठन विस्तार र शक्ति निर्माणमा लगाउने वाचा गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको छैठौं दिन, सभापतिसहित २ सय ९७ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गरेर बाहिरिएकी दोलखा शैलुङकी रन्जिता बुढाथोकीले अब जिल्ला फर्किएपछि पार्टी, गाउँ तथा देश निर्माणको अभियानमा जुट्ने बताइन् ।
स्पष्ट नीति र नयाँ नेतृत्वसहितको कांग्रेसले मुलुकको राजनीतिलाई नै नयाँ सन्देश दिने भन्दै महाधिवेशनमा सहभागी अरु प्रतिनिधिले पनि जिल्ला र गाउँ फर्किएपछि पार्टीको संगठन विस्तारमा काम गर्ने भनेका छन् ।
कतिपय महाधिवेशन प्रतिनिधिको विश्वास भने कांग्रेसले अब राजनीतिलाई नयाँ बाटोमा हिँडाउने पार्टीमा देखिएको विकृतिलाई अन्त्य गरी समाजको गतिविधिलाई जोड्ने बताए । पाँच दिनमा सक्ने भनेको महाधिवेशनको छैठौं दिनमा बल्ल मतदाता गर्नुपर्दा पनि प्रतिनिधिहरु उत्साहित देखिन्थे ।
अबको पार्टी नेतृत्व दुरदर्शी र मुलुकका समस्या समाधान गर्नसक्ने हुने विश्वास कांग्रेस महाधिवेशन प्रतिनिधिको छ । पार्टीका पूर्वसभापतिसहितको एउटा समूह नै बाहिर रहँदा भइरहेको कांग्रेस महाधिवेशनले अधिकांश अघिल्लो कार्यसमितिका तर युवा नेतृत्व चुन्नेछ ।
कांग्रेसको यो महाधिवेशनले राष्ट्रिय राजनीति र कार्यकर्तामा कस्तो सन्देश दिन्छ त्यो चाहीँ अबको पार्टी नेतृत्वको कार्यशैली र महाधिवेशन प्रतिनिधि गाउँ फर्केपछि गर्ने काममा निर्भर हुने देखिन्छ।