प्रवेशले उठाएको खुसी महिनादिनमै ढल्यो

आश्विन २२, २०८० |सरिता चलाउने
प्रवेशले उठाएको खुसी महिनादिनमै ढल्यो

सल्यान । सल्यानको शारदा नगरपालिका ३, साहुटोलका प्रवेश भण्डारी इजरायलमा कामसँगै अध्ययनका लागि गत भदौ २० गते घरबाट हिँडेका थिए । घरबाट हिँडेका उनी भदौ २६ गते इजरायल पुगेका थिए ।

त्यहाँ पुगेसँगै काममा लागेका उनी परिवारको सम्पर्कमै थिए । राम्रैसँग दिनहरु गुजारिरहेका थिए । निम्न वर्गीय परिवारका उनी इजरायल गएसँगै घरमा पनि खुसीको आशा पलाएको थियो । तर दुर्भाग्य गत शनिबारदेखि उनको परिवारसँग सम्पर्क टुट्यो।

त्यहीबेला इजरायलमाथि प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले भीषण आक्रमण गरेको खबर संसारभर फैलियो । यो खबर परिवारका सदस्यले पनि थाहा पाए । इजरायलमा भएको आक्रमणको खबरसँगै परिवारका सदस्य चिन्तामा परे । उनीसँग सम्पर्कको कैयौं प्रयास भयो । तर सम्पर्क हुन सकेन ।

उनको अवस्थाबारे खोजी हुँदै गर्दा इजरायलमा १० नेपाली विद्यार्थी मारिएको खबर आयो । मारिनेहरुको सूचीमा प्रवेशको पनि नाम थियो । एकाएक प्रवेशको परिवारमा बज्रपात भयो । कामसँगै अध्ययनका लागि इजरायल पुगेका प्रवेश कहिल्यै नफर्किने गरी उतै अस्ताए । यता अहिले उनका बुबा, आमासँगै परिवारका सदस्य तथा आफन्तहरु विलाप गरिरहेका छन् ।

शोकाकुल उनकी आमा अझै पनि मूर्छित अवस्थामै छिन् । बुबा पीडाको भारी बोकेर छोराको सास नभए पनि लासको पर्खाइमा तड्पिरहेका छन् । प्रवेशको घरमा आउने आफन्तहरुको आँखामा बलिन्द्र आँसु बगिरहेको छ । मूर्छामा परेकी आमा बेलाबेला ‘बाबु...बाबु...मेरो बाबु’ भन्दै चिच्याउँछिन् । अनि छिन्‌मै अचेत हुन्छिन् । यो कारुणिक दृश्यले जो कोहीलाई भावविह्वल बनाइदिन्छ ।

२४ वर्षीय प्रवेशले गत शुक्रबार साँझ परिवारसँग गरेको सम्पर्क नै सधैंका लागि अन्तिम भइदियो । उनको परिवारले प्रवेशको मृत्युको खबर आइतबार साँझ मात्र समाचारमार्फत थाहा पाएका थिए ।

पीडाले निचोरिका उनका बुबा चक्रबहादुर भण्डारी विक्षिप्त छन् । उनी छोराको शव छिटोभन्दा छिटो आओस् भन्ने चाहन्छन् ।

‘इजरायल पुगेको पर्सि पल्टदेखि नै ऊ काममा लागेको थियो । उसलाई राम्रै थियो । सम्पर्कमै थियो,’ उनले गहभरी आँसु पार्दै भने, ‘अहिले आएर द्वन्द्वका कारण छोराको निधन भयो । सरकारले कुनै पनि पहल गरेर तथा विश्वविद्यालयले पनि उसको शव ल्याउन पहल गर्दिन्छ कि भन्ने आशा गरेको छु ।’

प्रवेश मृत्युले शोकाकुल बनेकी आफन्त शोभा सेजुवालले सास त आएन लास छिटो ल्याइदिओस् भन्दै सरकारसँग आग्रह गरिन् । ‘सास त आउन सकेन, लास छिटोभन्दा छिटो ल्याइदिओस् । अहिलेसम्म उसले पढेको कलेज र सरकारले हामीसँग सम्पर्क गरेको छैन । गरिब परिवारको छोरा हो,’ उनले भक्कानिँदै भनिन् ।

प्रवेशसहित सल्यानका तीनजना गरी ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका थिए । सल्यानकै शारदा नगरपालिका २ का विधान सेजुवाल आक्रमणमा परी घाइते भएका छन् । उनको इजरायलस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै खुट्टामा गहिरो चोट लागेको जनाइएको छ । आक्रमणमा परेका सल्यान, त्रिवेणी गाउँपालिका १ का प्रमोद केसी भने सुरक्षित छन् । उनी ज्यान जोगाउन बंगरमा बसिरहेका छन् । प्रवेशको मृत्युको खबरले भण्डारी परिवारसँगै गाउँ नै शोकमा डुबेको छ । 


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement