
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका छन् ।
चार वर्षे कार्यकालका लागि पार्टीको नेतृत्वमा पुगेका थापासामु कांग्रेसलाई नयाँ राजनीतिक दिशामा अघि बढाउने अवसर छ। तर, पार्टीभित्रको गुटगत राजनीति, पुरानो नेतृत्वको प्रभाव, खुम्चिएको जनमत र बदलिँदो राजनीतिक परिस्थितिबीच कांग्रेसको साख फर्काउनु उनका लागि सहज छैन।
संगठन सुधारदेखि संसद्मा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नेसम्मका चुनौती अब थापाको काँधमा छन्।
के थापाले कांग्रेसलाई साँच्चिकै रूपान्तरण गर्न सक्लान्?
लामो समयदेखि पुस्तान्तरणको माग गर्दै पुरानो नेतृत्व र कार्यशैलीको आलोचनामा उत्रिएका गगन थापाका लागि अब आफ्नै प्रतिबद्धता व्यवहारमा उतार्ने समय आएको छ। नेतृत्व परिवर्तनलाई पार्टीको वास्तविक रूपान्तरणमा बदल्नु नै उनको पहिलो परीक्षा हुनेछ ।
त्यसो त नवनिर्वाचित सभापति थापालाई सबैभन्दा ठूलो चुनौती कांग्रेसभित्रको गुटगत राजनीति अन्त्य गर्नु हुनेछ । हुन त महाधिवेशनकै दौरान थापाले गुटगत राजनीतिको अन्त्य भएको दाबी गरे । तर, महाधिवेशनबाट सहज रुपमा नेतृत्व चयन भए पनि पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनु, असन्तुष्ट पक्षलाई समेट्नु र संगठनलाई एकताबद्ध बनाउनु त्यति सहज छैन।
पुरानो नेतृत्वको प्रभाव र नयाँ नेतृत्वका आकांक्षाबीच सन्तुलन कायम गर्न नसके पार्टीभित्रको विवादले थापाको कार्यकाल प्रभावित गर्न सक्छ। कांग्रेसको नयाँ नेतृत्वलाई दोस्रो र महत्वपूर्ण चुनौती हो, जनविश्वास फर्काउनु। सत्ता र शक्तिको राजनीतिमा केन्द्रित भएको आरोप खेप्दै आएको कांग्रेसले आफ्नो राजनीतिक छबि बदल्नुपर्नेछ।
युवा पुस्ताको असन्तुष्टि, रोजगारीको अभाव, भ्रष्टाचार र सुशासनका प्रश्नलाई सम्बोधन गर्दै कांग्रेस जनताको दैनिकीसँग जोडिनुपर्नेछ। केवल नेतृत्वमा नयाँ अनुहार ल्याएर होइन, नीति, निर्णय र कार्यशैलीमै परिवर्तन देखाउनुपर्नेछ।
संसद्मा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नु पनि थापाका लागि अर्को महत्त्वपूर्ण परीक्षा हो । सरकारका कमजोरीमाथि प्रश्न उठाउने मात्र होइन, राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोण र जनताले अनुभूत गर्ने वैकल्पिक कार्यक्रम प्रस्तुत गर्नुपर्नेछ। त्यस्तै, पार्टीको संगठनलाई तल्लो तहसम्म बलियो बनाउनु, योग्य र सक्षम नयाँ पुस्तालाई अवसर दिनु तथा आगामी निर्वाचनका लागि विश्वासिलो राजनीतिक आधार तयार गर्नु उनको प्राथमिकतामा पर्नु पर्नेछ।
थापाले नेतृत्वमा परिवर्तनको सन्देश त दिए तर, त्यो सन्देशलाई राजनीतिक उपलब्धिमा बदल्न पार्टीभित्रको एकता, स्पष्ट नीति र जनताप्रतिको जवाफदेहिता अनिवार्य छ। चार वर्षको कार्यकाल उनका लागि कांग्रेसलाई पुनर्जीवित गर्ने अवसर पनि हो र असफल भए आलोचनाको विषय बन्ने जोखिम पनि। उनले कांग्रेसलाई कति बदल्न सक्छन् त्यसका लागि चार वर्ष कुर्नै पर्छ ।