स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रलाई सरकारको प्रोत्साहन

जेष्ठ १, २०८१ |जितेन्द्र झा
स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रलाई सरकारको प्रोत्साहन

काठमाडौं । सरकारले स्टार्टअप तथा सूचना प्रविधिको क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ। आज सार्वजनिक नीति तथा कार्यक्रममा स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जादेखि स्वदेशी सफ्टवेयर कम्पनीलाई प्रोत्साहनसम्मको नीति सरकारले लिएको हो ।

सरकारले नवप्रवर्तन र स्टार्टअपका लागि राष्ट्रिय अभियान सञ्चालन गरिने जनाएको छ । तीनै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीति कार्यान्वयन गरिनेछ । निजी क्षेत्र समेतको सहभागितामा सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टरको स्थापना गरी स्टार्टअपको विकास गर्ने नीति सरकारले लिएको छ । आगामी आर्थिक वर्षमा कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिइने घोषणा गरिएको छ ।

यस्तै, सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गर्ने सरकारको नीति छ । स्वदेशमा विकसित सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीतिले नेपालका सफ्टवेयर कम्पनीलाई प्रोत्साहन हुने देखिएको छ । सूचना प्रविधिमार्फत सामाजिक-आर्थिक रूपान्तरण एवं समृद्धि हासिल गर्ने भन्दै सरकारले आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाउने घोषणा गरेको छ ।

सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ । काठमाडौं उपत्यका र प्रत्येक प्रदेशमा सूचना प्रविधि वर्कस्टेसन सञ्चालन गरी पाँच हजारलाई रोजगारी दिइने पनि घोषणा गरिएको छ ।

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने, सूचना प्रविधिसम्बद्ध निकायको पुनःसंरचना गर्ने पुरानै प्रतिबद्धता यसपटक पनि दोहोर्याएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बौद्धिकता रणनीति तयार गर्ने र यसको प्रयोगसम्बन्धी सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिएको छ । सरकारले व्यक्तिगत डाटा (तथ्यांक) सुरक्षासम्बन्धी कानुन बनाउने भएको छ ।

त्यसैगरी विद्युतीय प्रणालीहरूबीच अन्तर-आबद्धता कायम गर्न इन्टरनेट तथा डाटा एक्सचेन्ज प्लेटर्फम निर्माण गर्ने, डिजिटल साक्षरता विस्तार गर्ने, नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्नेजस्ता योजना पनि सार्वजनिक गरिएका छन् ।

यो पनि...

सरकारको नीति तथा कार्यक्रम : कृषि, रोजगारी र नवप्रवर्तनलाई प्राथमिकता (पूर्ण पाठसहित)

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा

सरकारले ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने

नीति तथा कार्यक्रम : प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने

‘सीपविना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गरिनेछ’ (पूर्णपाठ)

५ वर्षभित्र फलफूलमा र २ वर्षभित्र पशुपन्छीमा आत्मनिर्भर बनाउने सरकारको नीति

निजी पुँजी आकर्षित गर्न सरकारले थप कानुनी प्रबन्ध गर्ने

सरकारको नीति तथा कार्यक्रम : ५ लाख भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिने (पूर्ण पाठसहित)

नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्नेछ : अध्यक्ष ढकाल


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement